NEW YEAR 2078 – GREETINGS
          


घोराही
११-जेठ/ यही जेठ १७ गते लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा जनता सामाजबादी पार्टीका ४ जना सांसद मतदान गर्नबाट बन्चित भएका छन् । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरीम आदेश जारी गरेपनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ति सांसदहरुको नाम राखेको छैन ।

निर्वाचन आयोगको गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ । जसमा जनता समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव र सुमन शर्मा रायमाझीको नाम छैन ।

सर्वोच्चले ३ जेठमा उनीहरूलाई कारबाही गर्ने निर्णय १६ जेठसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन् । तर, प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना, र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो ।

प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङमा सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । लुम्बिनीमा २ सय ९६ मतदाता छन् । जसमा प्रदेशसभा सदस्य ७९ र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्ने छन् । राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो । चुनावमा नेकपा एमालेबाट तिनै चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, माओबादी केन्द्र, उपेन्द्र यादब समूहका जसपा र जनमोर्चाको गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे उमेदवार बनेका छन् ।

जेठ १७ गते घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा मतदानस्थल तोकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । जसमा तीनवटा मतदान केन्द्र छन् । क केन्द्रमा प्रदेशसभा सदस्य, ख केन्द्रमा पालिकाका प्रमुख उपप्रमुख र ग केन्द्रमा कोरोना संक्रमितका लागि छुट्ईयाएको छ । मतदानका लागि ७२ घण्टा भित्र पिसिआर गरेको रिपोर्ट अनिवार्य देखाउनुपर्ने छ । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मी समेत खटाउने व्यवस्था गरिएको छ ।

प्रतिकृया

प्रतिकृया