दीपक बोहरा/

राजनीतिमा ईमान्दार र स्वच्छ छबि बनाएको एउटा नाम हो, टिकाराम खड्का । सादकी र निम्नवर्गीय धरातलमा रहेका खड्काले आफ्नो जीवन राजनीतिमा नै सुम्पिएका छन् । कम्युनिष्ट पार्टीको एउटा उदाहरण दिदा ‘टिकारामको नाम पनि दिईन्छ ।’ किनकी उनी जस्ता वर्गीय नेता तथा कार्यताहरुले नै अहिलेको कम्युनिष्ट आन्दोलनलाई सार्थक बनाएको छ ।

कम्युनिष्ट पार्टी भित्र बर्गउत्थान भएका नेता तथा कार्यकर्ताहरुले विपरित बर्गको स्वार्थसंग आत्मसमर्पण गर्ने,प्रलोभनमा पर्ने, उनीहरुकै एजेन्ट भएर आफ्नो बर्गलाई धोका दिने प्रबृति हावी भएको अबस्थामा टिकाराम खड्का जस्ता व्यक्ती पार्टीमा विरलै भेटिन्छन् । यस्तै व्यक्तीहरुले नै अहिले कम्युनिष्ट आन्दोलन पतन हुनबाट जोगाएका छन् ।

 

 

उनी तुलसीपुर–१८ स्थित अक्कासी गाउँको ऐलानी जग्गामा बस्छन् । उनको परिवारको नाममा अहिलेसम्म जग्गा छैन । उनका वुवाले जोतभोग गरेको ५/७ कठ्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरुले जोतभोग गर्दै आएका छन् ।

२०४८ सालमा तत्कालिन नेकपा (मशाल)का रोल्पा जिल्ला सेक्रेटरी कृष्णबहादुर महरा हुँदा खड्का पनि तत्कालिन नेकपा (माले)को जिल्ला सेक्रेटरी थिए । तर, महरा र खड्काबीचको राजनीतिक उचाई आकास पातलको फरक छ । महरा राष्ट्रिय राजनीतिका प्रभावसाली नेता हुन् । सभामुख तथा उपप्रधानमन्त्री भइसकेका महरा पटक–पटक मन्त्री भइसकेका छन् । तर, खड्काले अहिले सम्म सत्ताको अनुभूति गर्न पाएका छैनन् ।

उनी रोल्पाको सेक्रेटरी हुँदा २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । त्यतिबेला राप्रपाका बलाराम घर्तीले उनलाइ पराजित गरेका थिए । त्यसपछि उनलाई २०७४ सालमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट समानुपातिक उम्मेदवार बनाईएको थियो । तर, समानुपातिक सांसदमा महिला, जनजातिलाई प्राथमिकता दिनुपर्ने भएपछि समानुपातिकमा पनि उनी परेनन् ।

उनले एकपटक राजनीतिक नियुक्त पाएका छन् । २०७२ सालमा उनी सुकुम्वासी समस्या समाधान आयोग दाङको अध्यक्ष समेत भएका छन् । तर, त्यसमा लामो समय काम गर्न पाएनन् । ३ महिना मात्रै काम गर्न अवसर पाए । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री भएको अबस्थामा उनले राजनीतिक नियुक्ती पाएका थिए । तर, तीन महिनामै आयोगका सन्दर्भमा मुद्दा परेपछि अदालतले कामकाज अगाडी नबढाउन भनेपछि त्यतिकै रोकियो ।

हाल, उनी नेकपा एमाले दाङका जिल्ला अध्यक्ष छन् । माधव नेपाल निकट रहेकाले एमाले भित्र केपी ओली समूहले उनलाई स्वीकार गर्न सकेको छैन । तर, नीति, बिधि, पद्धति अनुसार आफू नै अध्यक्ष भएको उनी दावी गर्दै आएका छन् । २०७५ सालमा मुलुकका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता हुँदा दाङमा नेतृत्व गर्ने जिम्मा एमालेको भागमा परेको थिए । एकता भन्दा अघि खड्का नै एमाले दाङको अध्यक्ष भएकाले स्वतः उनी नेकपा दाङको अध्यक्ष बने ।

२०७७ फागुन २३ मा अदालतले दुई पार्टी एकता भन्दा पहिलेकै अबस्थामा गएको भनि फैसला गरेपछि दाङमा एमालेको आधिकारिक अध्यक्ष आफू नै भएको उनी बताउछन् ।“ कम्युनिष्ट पार्टी विधी र विधान अनुसार चल्नुपर्छ”, उनी भन्छन्“ यदि हामी बिधि मान्छौं भने एकता भन्दा अघि जो अध्यक्ष थियो, त्यही नै अध्यक्ष हुन्छ ।”

खड्का पार्टी भित्र होस्, वा राजनीतिक एजेण्डामा नियमित संघर्ष गर्दै आएका खड्काले घर–परिवार भित्र पनि निकै संघर्ष गर्नुप¥यो । रोल्पाको साबिक डुबिङ् ७ हाल घोराही ११ चाँचला भन्ने स्थानमा २०२३ मंसिर २० गते जन्मिएका खड्काले आमा सुन्तली खड्काको काखमा लामो समय रमाउन पाएनन् । उनले आफू एक बर्षको हुँदा आमा गुमाउनु परेको थियो । आमा नहुँदा वुवाको शाहारामा रहेका खड्काले आफ्नो पूरा बाल्यकाल वुवा रुद्रविर खड्काको काखमा पनि विताउन पाएनन् । आफू १४ बर्षको हुँदा वुवालाई गुमाउनु परेको थियो ।

त्यतिबेला उनको परिवारमा उनी र उनकी दिदी मात्रै थिइन् । वुवाआमालाई गुमाएपछि उनले १४ बर्षदेखि निकै संघर्ष गर्नु प¥यो । जमिनदारको घरमा हलि बसेर गुजारा गर्नुपर्ने अबस्था थियो । उनको युवा अबस्था हलि बसेर वित्यो । हलि बसेर पढ्ने र आफ्नो गुजारा चलाउने गरेका थिए ।

प्रारम्भिक शिक्षा प्राबि भित्रि संक्राम र कक्षा १० सम्मको अध्ययन जनता संस्कृत माध्यािम विद्यालय विजौरीमा लिए । त्यसपछि उनले भारतको गोरखपुर भारतबाट एसएलसी पास गरे । भारतमा काम गर्दै पढ्दै गरेका खड्काले भारतबाटै कमाएर घरको २५ हजार ऋण तिर्न सफल भएका थिए । आफू राजनीतिक जीवनमा नआउँदासम्म उनले अर्काकै हलि बनेर काम गर्नुपरेको थियो । जब राजनीतिमा लागे, त्यसपछि पढाई पनि थाँति राखेर पूर्ण कालिन राजनीतिमा सक्रिय भएका थिए ।

२०३६/०३७ सालको विद्यार्थी आन्दोलनबाट खड्का प्रभाबित भए । जतिबेला पञ्चायतका विरुद्व विद्यार्थीहरुले सशक्त रुपमा आन्दोलन गरेका थिए । त्यसबाट प्रभावित भएका खड्का १६ बर्षकै उमेरमा २०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) छौठौं ईकाई समिति सदस्य भए ।  उनी त्यतिबेला मावि मुरु रुकुममा दौलत घर्तीको नेतृत्वमा इकाइ सदस्य भएका थिए । त्यसयता नियमित सर्वहारा वर्गको मुक्तीकालागि आन्दोलनमै छन् ।

२०४१ सालमा तत्कालिन पार्टी मालेको भातृ संगठन अखिल नेपाल किसान संघको विजौरी स्तरीय संगठीत सदस्य बनेका उनी, २०४२ सालमा अनेरास्वबियुको जिल्ला कमिटि सदस्य, २०४३ सालमा अनेरास्ववियुको सहसचिव भए । पार्टी निकट भातृसंगठबनमा सक्रिय रहेका उनी पार्टीमा पनि उत्तिकै क्रियाशिल थिए । उनले २०४४ सालमा तत्कालिन मालेको सदस्यको उम्मेदवार पनि बनेका थिए । त्यसपछि उनी २०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुँदा देखि नै पूर्णकालिन कार्यकर्ताको रुपमा भूमिगत भएका थिए । त्यही क्रममा उनी २०४६ सालमा देउखुरी उपत्यका ईलाका सचिब हुनुका साथै नेकपा माले जनआन्दोलन संघर्ष समिति दाङ जिल्ला सदस्य भएका थिए ।

त्यही क्रममा उनलाई पार्टीको जिम्मेवारी सम्हाल्न रोल्पा पठाईएको थियो । जनआन्दोलन सञ्चालन गर्न रोल्पा खटाईएका टिकाराम २०४७ वैशाख ९ गते मालेको रोल्पा जिल्ला कमिटि उपसचिब भएका थिए । साथै २०४८ साल जेठ १ मा प्रजातान्त्रिक राष्ट्रिय संघको केन्द्रीय सदस्य भएका खड्का, २०४९ सालदेखि पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए । रोल्पा जिल्ला सेक्रेटरीको जिम्मा २०५७ सम्म सम्हालेका थिए । रोल्पामा पार्टी निर्माणमा खड्काको भूमिकाको चौतर्फी प्रशंसा हुनेगर्छ । सल्यानको पार्टी निर्माण गर्न छबिलाल ओलीलाई खटाए झै खड्कालाई रोल्पाको पार्टी निर्माणको जिम्मा थियो । सोही क्रममा खड्का २०५१ सालमा रोल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत बनेका थिए ।

२०५८ सालदेखि दाङमा रहेर नेकपा एमाले राप्ती अञ्चल समन्वय समितिमा रहेर काम गरे, भने २०५९ सालदेखि अखिल नेपाल किसान संघ र २०६४ मा संघका केन्द्रीय सदस्य, २०६७ मा संघको स्थायी कमिटि सदस्य भएका खड्काले २०७२ देखि हालसम्म नेकपा एमाले दाङको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । मुलुकका दुई कम्युनिष्ट पार्टी(एमाले) र माओवादी केन्द्रबीच भएको एकताका क्रममा पनि उनी जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य भएका थिए ।

लोकेन्द्र विष्ट संगै जेल परेका थिए खड्का
खड्का आन्दोलनकै क्रममा २०४४ सालमा जेलमा परेका थिए । विद्यार्थी आन्दोलनकै क्रममा पूर्वमन्त्री लोकेन्द्र विष्टसंगै उनी खड्का पनि जेल परेका थिए । त्यतिबेला तत्कालिन मसाल निकट अखिल छैठौले पनि आन्दोलनलाई शसक्त बनाएको थियो । अखिल छौठौंको आन्दोलनको क्रममा विष्ट जेल परेको समयमा अखिल पाँचौको आन्दोलनको क्रममा टिकाराम पनि जेल परेपछि उनीहरुलाई घोराहीको जेलमा राखिएको थियो ।

त्यतिबेला उनीहरु भेट भएको थियो । कात्तिकदेखि बैशाखसम्म उनीहरुले जेल जीवन विताए । शान्तिसुरक्षामा मुद्दामा खड्कासंगै मेनका पोखरेल, लक्ष्मी ज्ञवाली, यशोदा सुवेदी र लोकेन्द्र विष्टसंग घोराही जेलमा बसे । जेलमा शिवराज गौतम, विष्णु पोखरेल, डिल्ली अधिकारीसंग भेट भएको पनि याद गर्छन् ।

खड्काले घनश्याम नेपाली, मेघबहादुर बीसी, युवराज ज्ञवाली, मेनका पोख्रेललाई राजनीतिक गुरु मान्छन् । सामाजिक शोषण दमन, अन्याय अत्याचार नसहने खड्का यसका विरुद्ध विगतदेखि नै लडे भने अन्त्य नहुँदासम्म संघर्ष गर्ने बताउछन् । उनी भन्छन्‘जबसम्म समाजिक विभेद अन्त्य हँदैन, तबसम्म आन्दोलनबाट विश्राम लिदैन् ।”

विवाह बन्धन
२०५१ साल माघ १५ गते उनको झुमा ओलीसंग जनवादी विवाह भयो । अहिले उनका दुइ छोरा छन् । उनका २५ बर्षका जेठो छोरा शुशील खड्का र २३ बर्षका छोरा अनिल कुमार खड्का छन् । दुबै छोरामा वुवाको राजनीतिक प्रभाब परेको छ । छोराहरु पनि अहिले विद्यार्थीको राजनीतिमा सक्रिय छन् । २०५२ जेठ १ गतेदेखि शिक्षण पेशामा आबद्ध खड्काकी श्रीमति झुमा २०६३ माघ १९ देखि स्थायी शिक्षक छिन् । उनकै कमाईबाट परिवार चल्ने गरेको छ ।

May be an image of 3 people

खड्काको परिवार

( टिकाराम खड्कासंग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री ।)

प्रतिकृया

प्रतिकृया