डा. धर्मराज रेग्मी
सामान्य र नियमित महिनावारी हुने गरेको महिलामा गर्भको अवधि करिब ४० हप्ता अर्थात २८० दिनको हुन्छ। यो अवधि अन्तिम पटक भएको महिनावारीको पहिलो दिनदेखि सुरु हुन्छ र यसलाई सामान्य बुझाइमा ९ महिनाको गर्भ भन्ने गरिन्छ।

कहिले चल्छ बच्चा ?
आमाले पेटमा बच्चा चलेको महसुस गर्नु भनेको बच्चाको जीवनको पहिलो चिन्ह हो र यसले बच्चा जीवित अनि सकुसल छ भन्ने जनाउछ। सामान्यतया धेरैजसो आमाले पहिलोपटक बच्चा चलेको १८ देखि २० हप्ताको अवधिमा महसुस गर्दछन, पहिले बच्चा जन्माइ सकेका आमाले भने १-२ हप्ता अगाडिदेखि महसुस गर्न थाल्दछन्।

महिना बढ्दै जाँदा बच्चा चल्ने क्रम पनि बढ्दै जान्छ र अधिक मात्रामा बच्चा चल्ने भनेको २९ देखि ३८ हप्तामा हो। राम्रोसँग सामान्य तरिकाले बच्चा चल्नु भनेको बच्चाको केन्द्रीय स्नायु प्रणालीको विकास र कामकाज राम्रोसँग भएको भन्ने बुझिन्छ। औसतमा बच्चा गर्भमा ९-१८५ समय सक्रिय रहने गर्दछ जुन हामीले बुझ्दा एक दिनमा कम्तिमा १०-१२ पटक बच्चा चलेको हुनुपर्दछ। यदि आमालाई दिनभरिमा बच्चा चलेको १० पटक भन्दा कम महसुस भएमा आवश्यक चेकजाँचको लागि अस्पतालमा जानु उचित ठानिन्छ।

बच्चा राम्रोसँग चल्ने अवस्था
बिहान वा रातिको समय भन्दा वेलुकापख बच्चा चलेको महसुस धेरै हुने गर्दछ। सबैभन्दा धेरै र सजिलैसँग बच्चा चलेको महसुस हुने भनेको कोल्टे फर्केर सुत्दा हो र बसेको बेला केही कम महसुस हुन्छ भने उठेको वा केही काम गरिरहेको बेला झनै कम महसुस हुन्छ।

किन कम चल्छ बच्चा ?
गर्भमा बच्चा कम चल्ने कारणहरु निम्नप्रकारका छन्।
– बच्चा सुतेको अवस्था
– आमा आत्तिएको वा तनावमा भएको बेला
– आमा काममा व्यस्त भएको बेला
– आमाले मध्यपान तथा अन्य नसालु पदार्थ सेवन गरेको अवस्था
– बच्चाको फोक्सोको विकासका लागि दिइने औषधि स्टेरोइड दिएको बेला
– बच्चाको शरिरमा अक्सिजनको कमि
– बच्चाको वृद्धिविकासको कमि
– आमालाई रक्तअल्पता तथा थाइराइडको समस्या
– गर्भमा पानिको मात्रा निकै कम वा धेरै
– बच्चाको अविकसित स्नायु प्रणाली तथा मांसपेशी।

माथि उल्लेखित धेरैजसो अवस्थामा बच्चाको शरिरमा अक्सिजनको मात्रामा कमि आउदछ र यसलाई सन्तुलनमा ल्याउन शरिरमा अक्सिजनको आवश्यकतामा कमि गराइ बच्चाले शक्ति संचय गरि आफ्नो सक्रियता घटाइ बच्चा कम चल्ने गर्दछ।

बच्चा कम चलेमा के खतरा हुन सक्छ ?
यदि बच्चा कम चल्ने कारणमा केही जटिल समस्या वा अवस्था जस्तैस् आमामा उच्च रक्तचाप, मधुमेहले जटिल बनाएको गर्भ, आमाको कलेजोको खराबी, गर्भमा हुने विभिन्न संक्रमण, बच्चाको मुटु तथा अन्य महत्वपूर्ण अंगमा भएका खराबी भएको खण्डमा निम्नलिखित जटिलता आउन सक्छन।
– गर्भमा वा जन्मिने क्रंममा बच्चाको ज्यानै जान सक्ने।
– बच्चा जन्मेपछि जटिलता आई सघन कक्षमा भर्ना तथा भेन्टिलेटरको आवश्यकता पर्ने।
– शिशुको मृत्युदर बढ्न सक्ने।

तथापि आमाले बच्चा कम चलेको महसुस हुने बित्तिकै अस्पतालमा गई आवश्यक चेकजाँच तथा सहि समयमै उपचार पाएको खण्डमा बच्चामा हुने विभिन्न खालका जटिलताहरुलाई रोक्न सकि स्वस्थ बच्चा जन्माउन सकिन्छ।

(डा रेग्मी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अन्तिम वर्षमा अध्ययनरत छन्।)  -स्वास्थ्यखबर 

प्रतिकृया

प्रतिकृया