प्रिया स्मृती गजमेर, लमही
१९-भदौ/ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेदेखि पश्चिम राजपुरको हाटबास सम्म दुई दर्जन बढी खहरे खोलाहरु पर्छन । धेरै जसो खोलाहरुमा पुल छैनन् । खहरे खोलामा पुल नहुँदा स्थानीयले कति दुख पाउने गरेका छन भन्ने कुराको कुनै लेखाजोखा नै छैन । गढवा गाउँपालिका वडा नम्बर २ भित्रपर्ने खौरहवा खोला र वडा नम्बर ७ मा पर्ने मानपुर खोला सबैभन्दा ठुला खोला हुन । कालाकाटेदेखि गढवा, राजपुर हुँदै बाँकेको अगैया जोड्ने पुर्व पश्चिम हुलाकी सडककोबीचमा थुप्रै खोलाहरु छन् ।


                                                                         बिज्ञापन
   



वर्षायाममा यी खोलाले स्थानीयलाई हदभन्दा बढी दुःख दिन्छन् । राज्यले पुल बनाउने भनेर ठेकेदारलाई जिम्मा दिन्छ तर समयमा ठेकेदारले काम सम्पन्न नगर्दा जनताले दुख पाउने गरेका छन । यता तिर कसले ध्यान दिने ? जब घटना घट्छ तब मात्र प्रशासनले एक्सन लिन्छ । पुल बनाउने जिम्मा लिएकाहरुले समयमा काम नगर्दा कैयौं मानिसले अकाल मै ज्यान गुमाउनु परेको छ । महदेवा स्थित पर्ने खौरहवा खोलामा पुल निर्माण हुँदै छ । निर्माण कम्पनिले यहि आर्थिक वर्षमा काम शुरु गरेको हो ।

लगत्तै वर्षा लागेकोले अहिले काम रोकिएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । सायद वर्षा पछि नै काम शुरु हुन्छ होला’- अध्यक्ष यादवले भने । त्यसै गरि वडा नम्बर ७ को मानपुर खोलामा पनि काम गर्ने भनेर क्याम्प खडा गरि कामदारहरु आई सकेको छन तर अझै काम भने शुरु भएको छैन । दक्षिण देउखुरीको एउटा समस्या भनेको मानपुर खोला पनि हो । यो खोलामा बाढी आयो भने पूर्व पश्चिम हुलाकी सडकको सम्पर्क नै बिच्छेद हुन्छ । यी खोलाहरु भयङ्कर ठूला भएका कारण करोडौं रुपैयाँ खर्च लाग्छ जुन बजेट गाउँपालिकाले थेग्न सक्दैन अध्यक्ष यादवले भने ।

हामीले पनि माथिल्लो निकायलाई पुल बनाई दिन पर्यो भनेर अनुरोध गरेका छौं, उताबाट कहिले हुन्छ थाह छैन । पुल निर्माण गर्दा केहि समस्या भयो भने मात्र निर्माण कम्पनिले सम्पर्क गर्छन नत्र कुनै वास्ता नगरेको यादवको भनाई छ । त्यस्तै राजपुर गाउँपालिका भित्र पनि दुई दर्जन बढी खहरे खोला छन् । पालिकाको क्षेत्रभित्र अहिले ३ स्थानमा पक्कि पुल निर्माणाधीन अवस्थामा छन । ति मध्ये वडा नम्बर ५ स्थित महातेनिया खोलामा पक्कि पुल निर्माणको कार्य लगभग अन्तिम चरणमा छ बाँकी सोमैथान खोला र गुरुङ खोलामा पुल निर्माणका लागि सामान झर्ने कार्य भैरहेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए ।

अन्य खोलाहरुको माटो परिक्षण भैरहेको र केहि खोलाहरुमा पुल निर्माणका लागि टेन्डर भैसकेको खबर पाएको छु अध्यक्ष केसीले भने । रामनगर खोला, महादेवा खोला, धैरेनी खोला, बौराहा खोला, सुपैला खोला जस्ता ठुला ठुला खहरे खोलाहरु पर्छन । त्यस्तै गढवा राजपुरको बिचमा मानपुर खोला, कठबेरुवा/चन्दनपुर खोला, महतेनिया खोला, मुङ्रेठा खोला जस्ता ठुला-ठुला खहरे खोलाहरु पर्छन । यिनी खोलाहरुमा बाढी आयो भने स्थानीयले निकै सास्ती खेप्नुपर्छ ।

प्रतिकृया

प्रतिकृया