रुकुम,
१०-कात्तिक/ गएको वर्ष जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुँदैछ । जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी दिए । श्रेष्तेदार बोहराका अनुसार वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको छ । उनीहरुको बकपत्र आगामी शुक्रबारसम्म गराइसक्ने योजना छ ।

गत वर्ष जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीलाई उक्त घटनामा अमानवीय तवरले मारिएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।

सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल (हालका शिक्षामन्त्री) को नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । सो समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो । अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका-८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको छ । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।
स्रोत : अनलाईन

प्रतिकृया

प्रतिकृया