सल्यान
१३-कात्तिक/ संघीय गणतान्त्रीक नेपालको पहिलो जनगणना अन्तर्गत गणकहरुका लागि चार दिने तालिम शनिबारदेखी शुरु भएको छ । जिल्लाको कपुरकोट, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा खटिने गणकहरुका लागि आयोजना गरिएको तालिमको कपुरकोट ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा उद्घाटन गरएको छ । तालिममा तीन गाउँपालिकाका ७३ जना गणकहरु सहभागी छन् ।

स्थानीय जनगणना अधिकारी खगेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले हरेक वस्ती र घरमा पुगेर महत्वपूर्ण विवरण संकलन गर्न गणकहरुलाई आग्रह गरिन् । यस्तै कपुरकोट ४ का वडा अध्यक्ष हरिलाल पुन, नेरामावि किमुचौरका सहायक प्रधानाध्यापक डिल्ली कुमार डाँगी लगाएतले बोल्दै जनगणना देश निर्माणको अभियान भएको बताएका थिए । पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले सहजिकरण गरेको तालिम उद्घाटन कार्यक्रममा सहायक स्थानीय जनगणना अधिकारी रुपलाल यरीले स्वागत मन्तव्य राखेका थिए ।

तालिममा कपुरकोटका २३, छत्रेश्वरीका २८ र त्रिवेणीका २२ जना गणक सहभागी छन् । यहि कार्तिक १६ गते सम्म चल्ने तालिममा १५ र १६ गते सुपरिवेक्षक पनि सहभागी हुनेछन् । तालिमको प्रशिक्षकहरुमा दामोदर शर्मा, भुपाल साहु, बुद्धिराज पौडेल, सरस्वति भण्डारी लगाएत रहेका छन् ।

जनगणना कार्यालयका अनुसार दुई चरणमा विवरण संकलन गरिने छ । पहिलो चरणमा सुपरिवेक्षकहरुले घर तथा परिवार सुचिकरण मार्फत प्रत्येक घर दैलोमा पुगी विभिन्न विवरणहरु संकलन गरेका छन् । दोश्रो चरणमा गणकहरु प्रत्येक घरपरिवारमा पुगेर मुख्य प्रश्नावली मार्फत घर तथा घरपरिवार सूचीकरण फाराम भर्नेछन् ।

‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा सहित केन्द्रीय तथ्यांक विभागले जनगणना गर्न लागेको हो । प्रत्येक १०/१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।

प्रतिकृया

प्रतिकृया