घोराही
२९-कात्तिक/ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा साना तथा ठुला शल्यक्रिया (अप्रेसन)का लागि चार वटा नयाँ अत्याधुनिक ‘ओटी रुम’ सञ्चालनमा आएको छ । यसअघि प्रतिष्ठानमा सामान्य र जटिल प्रकृतिका शल्यक्रिया (अप्रेसन) गर्नका लागि ‘ओटी रुम’ दुई वटा हुँदा आलोपालो सबै विशेषज्ञ चिकित्सकहरुले गर्नु पर्ने अवस्था रहेकोमा अहिले थप चार वटा नयाँ ‘ओटी रुम’ सञ्चालनमा ल्याई सेवा विस्तार गरिएको प्रतिष्ठानले जनाएको छ ।

आइतबारदेखि थप गरिएका ओटी रुमबाट बिरामीको शल्यक्रिया सुरु गरिएको हो । नयाँ ओटी सञ्चालनमा आएसंगै बिरामीहरुको उपचारमा थप सहजता आएको प्रतीष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले बताइन् । नयाँ ओटीमा अप्रेसनका लागि नयाँ–नयाँ अत्याधुनिक उपकरणको र थप विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइएको उनले बताइन् ।

त्यस्तै आइतबारदेखि नै २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको अस्पताल निर्देशक डा. बस्नेतको भनाइ छ । बिस्तारीत स्वास्थ्य सेवा(इएचएस्) सेवालाई प्रभावकारी बनाउनुका साथै बिरामीलाई छिटो छरितो सेवा प्रदान गर्न प्राइभेट वार्डले सहयोग पु¥याउने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले सुबिधा सम्पन्न प्राइभेट वार्ड सञ्चालनमा ल्याएको हो । यस वार्डमा बिरामीका लागि छुट्टा-छुट्टै क्याबिन बेड राखिएको छ ।

एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको २४सैं घण्टा उपलब्धतासहितको व्यवस्थासहित सेवा सुरु गरिएको निर्देशक बस्नेतले बताइन् । प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा प्राइभेट बेडसहित राप्ती स्वास्थ्य विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा आएको छ ।

सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया