रुकुम,
३-मंसिर/ रुकुम पश्चिममा चौरजहारी साबुन उद्योग सञ्चालनमा आएको छ । चौरजहारी सोप इन्डट्रिज एन्ड रिसर्च प्रालिले साबुन उद्योग सञ्चालनमा ल्याएको हो । कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले एक कार्यक्रमका बीच उद्योगको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा पूर्वमन्त्री शर्माले स्थानीयस्तरमा युवाहरूको सहभागितामा साबुन उद्योग सञ्चालन गर्नु स्वरोजगारको नमुना भएको बताए ।

उनले उत्पादन र खपत बढाउन गुणस्तरमा ध्यान दिएमा व्यवस्थित उद्योग भएर गर्व गर्न लायक हुने विश्वास व्यक्ति गरे । यस्ता स्वरोजगारमुखी गतिविधिलाई आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको समेत उनले बताए । चौरजहारी नगरपालिका २ मा रहेको चौरजहारी सोप इन्डस्ट्रिज एन्ड रिसर्च प्रा।लि।ले सस्तो र गुणस्तरीय साबुन उत्पादन गरेको उद्योगका अध्यक्ष पूर्णबहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले अहिले दैनिक पाँच सय वटा साबुन उत्पादन गरिएको जनाए । यहाँ उत्पादित साबुन अहिलेलाई रुकुम, सल्यान र जाजरकोटका विभिन्न ठाउँमा पठाइने र कालीकोट, सुर्खेत र जुम्लामा पनि डिलरको माग भइ आएको उनले बताए ।

अहिलेलाई काठमाण्डौबाटै कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गरेका छौँ’, अध्यक्ष रोकायाले भने, अब स्थानीयस्तरका कच्चा पदार्थको खोजी गरेर उपयोग गर्नेछौँ । अध्यक्ष रोकायाका अनुसार अहिले लुगा धुने साबुन मात्र उत्पादन गरिए पनि अब चाँडै नै नुहाउने साबुन र सोडा पनि उत्पादन गरिनेछ । रिसर्च प्रालिका सचिव प्रवेश बटालाले पाँच युवाको ४० लाख रुपैयाँ लगानीमा साबुन उद्योग सञ्चालन गरिएको बताए ।

प्रतिकृया

प्रतिकृया