घोराही
६-मंसिर/ नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छोडिएको छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले विश्व मत्स्य दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका ५ धर्ना सिसहनियास्थित बबई नदीमा माछाका भुरा छोडेको हो ।

रहुु र नैनी जातका ६ हजार माछाका छुराहरु बबई नदीमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको संख्या बढाउन भुरा छोडिएको डा. केसीको भनाई छ । नदीको जैविक विविधिता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताए ।

नदीमा माछाका भुरा छोडेर मात्र माछा नबढ्ने भन्दै उनले जथाभावी उत्खनन्, उद्योगबाट निस्कने रसायनिक पदार्थ, फोहोर मैला, विद्युतीय करेन्ट लगायतबाट पनि खोलालाई जोगाउनु पर्ने बताए । खोलामा विषादी हाल्ने र प्रदुषण बढ्दै जाँदा त्यसको असर नदीका माछा तथा अन्य जीवहरूमा परेको समेत उनको भनाई छ । विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दाङ जिल्ला मत्स्य व्यवसायी संघका अध्यक्ष विबेक श्रेष्ठले दाङमा माछा पालन फष्टाउदै गएको बताए ।

माछा पालनलाई व्यवसायीक बनाउने तर्फ मात्रै भन्दा पनि खोला नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको उल्लेख गरे । माछाको महत्वका बारेमा मत्स्य विकास अधिकृत महेन्द्र यादवले प्रकाश पारेका थिए भने सहजिकरण केन्द्रका प्राविधिक खड्गबहादुर केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया