डा. जोत्साना शर्मा
क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर पछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।
जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपी यसलाई प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकियो भने उपचार संभव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखा परेमा सर्तक रहनुपर्छ । चिकित्सकिय परामर्श लिनु पर्छ ।
यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रुपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती एचपिभी भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ बर्ष उमेर वर्गका बच्चाहरुलाई २ डोज खोप र १५ देखि २६ उमेर वर्गका मानिसहरुलाई ३ डोज खोप लगाउने गरिन्छ ।
त्यस्तै, २६ बर्ष भन्दामाथिका उमेर पुगेका मानिसहरुले भ्याक्सिन लगाएतापनि भ्याक्सीनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ । ९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानी जस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरु हुन् ।
कस्तो अवस्थामा यसको परीक्षण गर्ने? कस्ता रहन्छन् यो क्यान्सरको लक्षणहरु?
महिनावरी नभएपनि बिचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढि लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरु देखिएमा तत्काल प्यापस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले संक्रमित क्यान्सरको कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा बिबाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरुले कम्तिमा बर्षमा एक पटक स्त्री रोग सम्बन्धी डाक्टरहरुलाई भेटेर जाचँ गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ । हामीले हामी कहाँ आउने महिला दिदीबहिनी आमाहरुलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सवधानका उपायहरुको ज्ञान दिन जरुरी छ ।
(डा.शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निसन्तान विशेषज्ञको रुपमा कार्यरत छिन् ।) -स्वास्थ्यखबर