नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरी । उनको जन्म २०१७ सालमा बुवा चित्रबहादुर गिरी र आमा खगेश्वरी गिरीको कोखबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरमा भएको थियो । उनको वाल्यकाल गणेशपुरमै बितेको थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका गिरी आफ्नो वाल्यकाल रमाईलोसँग बितेको बताउँछन् । सानो उमेरमा दुःखको अनुभव आफुले गर्न नपाएको उनी बताउँछन् ।

उनी २०२० सालबाट नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गणेशपुरबाट पढाई सुरु गरे । त्यसपछि २०२६ सालमा निम्न माध्यमिक विद्यालय रक्षाचौर आयो र उनी त्यहाँ कक्षा ८ सम्म अध्ययन गरे । त्यसपछि बाँकी पढाइको लागि उनी भारतको बनारस गए । र १९७१ मा बनारसबाट एसएलसी पास गरे । त्यसपछि भने विविध कारण उनको पढाइ रोकियो । आफ्नो रुचि सानैदेखि समाज सेवा गर्ने रहेको उनी बताउँछन् । वाल्यकालको रुचिअनुसार आफु सामाजिक काममा अग्रसर रहेको उनी बताउँछन् ।

राजनैतिक यात्रा
कृष्णको परिवार पहिलेदेखि नै राजनैतिक विचार राख्दथ्यो । कृष्णका बुवा २००७ सालदेखि नै नेपाली कांग्रेसमा आवद्ध भएका थिए । र कृष्णलाई पनि बुवाको प्रेरणाले सानैदेखि राजनीतिले छोएको थियो । उनले नेपालमा बसेको समयमा विपी कोईरालाको नाम आफ्नो बुवाबाट सुनेका थिए । त्यसैक्रममा बनारसमा पढ्न गएको समयमा उनी नेपाली कांग्रेसका नेता वि.पि कोइरालासँग नजिकिए ।

विपीका कुराहरु सुनेर अझ बढी उनलाई राजनीतिप्रति रुची बढ्यो र उनी राजनीतिमा आवद्ध भए । आफ्नो परिवार नै राजनीतिमा आस्था राख्ने भएकाले आफुलाई परिवारबाट राजनीति गर्नु हुँदैन भनेर रोकावट नआएको उनी बताउँछन् । हामीलाई निर्दलीय पञ्चायती व्यवस्थाको खिलापमा नेपालमा संगठन खोल्ने जिम्मेवारी विपिले दिनुभएको थियो । सोहीअनुसार यस क्षेत्रको लागि बनारसमा बस्ने साथीमध्ये यमप्रसाद पाण्डे, गेहेन्द्र गिरी, गोविन्द मजगैया र आफुलगायत साथीहरु मिलेर २०२९ साल कात्र्तिक २२ गतेका दिन हालको वडा नं. ६ डुम्रीगाउँमा अरहरको झुममा बसेर संगठन लिखित रुपमा खोली माइन्यूट गरिएको उनी बताउँछन् ।

बनारसबाट एसएलसी पास गरेर दाङमा आएसँगै उनलाई प्रहरीले पक्राउ गर्यो । उनी दुई वर्षसम्म सल्यान जेलमा बसे । त्यसपछि २०३१ सालमा उनी रिहा भएपछि उनी राजनीतिसँगै सामाजिक संस्थाहरुमा काम गर्न थाले । तुलसीपुरमा रहेको सहकारी संस्थामा आवद्ध भएर उनी सहकारी संस्थाको अभियान्ताको रुपमा काम गरे । करिव सात वर्षसम्म सरकारीमा राम्रो काम गरे वाफत उनी हिन्दुस्थानको आईएलओ मार्फत भ्रमण गर्ने अवसर पाएका थिए । २०३५ सालमा नेपालमा राष्ट्रिय जनमत संग्रहको घोषणा भयो ।

त्यसपछि २०३६ बैशाख २० गते आम निर्वाचन भयो । निर्वाचनको समयमा नेताहरु दाङ आउने जाने क्रम चलिरहेको थियो । दाङमा चुनावी अभियानमा विपी कोईरालाको टिम आएको समयमा काठमाडौं फर्किने प्लेन क्यान्सिल भएपछि आफुले करिब पाँचसयजना व्यक्तिलाई आफ्नो दाइको घरमा लगेर राखेको र अर्को दिन ट्रकमा राखेर विपीलगायतको टोलीलाई नेपालजञ्ज पठाएको उनी बताउँछन् । त्यसपछि २०४२ सालको सत्याग्रहको समयमा पनि आफु निरन्तर रुपमा राजनीतिमा लागेको उनी सुनाउँछन् ।

त्यसैगरी २०४६ सालको जनआन्दोलन घोषणा भएपछि आफुलाइ अञ्चलाधिशहरुले दैनिकरुपमा तारिक लगाउन थालेपछि दाइ देबेन्द्र गिरीको सल्लाहमा आफु काठमाडांै गएर त्यो आन्दोलनमा सरिक भएको उनी बताउँछन् । २०६२/६३ को जनआन्दोलनमा पनि आफु काठमाडौंबाटै सहयोग गरेको उनको भनाई छ । यसरी निरन्तररुपमा आफु अहिलेसम्म नेपाली कांग्रेसमा आवद्ध भएर काम गरिरहेको उनी बताउँछन् । तर आफुभन्दा पछाडीका साथीहरुले धेरै अवसर पाएको र त्यसमा आफु पनि खुशी रहेको उनी सुनाउँछन् ।

जनयुद्धको नाममा करिब १५/२० वर्षसम्म देहमा निर्वाचन नभएकाले पनि आफुले अवसर नपाएको होकी भन्ने महशुस हुने गरेको उनी बताउँछन् । ‘म सँगैका साथीहरु कोही मन्त्री समेत भएका छन्, म भन्दा साना भाइहरु वडाध्यक्ष भएका छन्, कोही जिल्ला विकाससम्म पुगेका छन् तर मैले कतै अवसर नपाए पनि निरन्तररुपमा कांग्रेसमा लागिरहे उनी भन्छन्– त्यसकै फलस्वरुप नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जनताको अगाडी जानुपर्छ भनेर क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएर जिते’ त्यसमा म खुशी छु’ ।

नेपाल नेत्रज्योति संघलाई राम्रो बनाउन लागि परेकाले केही समय आफु राजनीतिक कार्यक्रममा उपस्थिति कम भएको उनी बताउँछन् । ‘पार्टीको कार्यक्रममा सहभागी नभएपछि जुन व्यक्तिको कपाल फुलेको छ, उहाँहरुले मलाई चिन्नुहुन्छ, जस्को कपाल फुलेको छैन् उहाँहरुले मलाई चिन्नु हुँदैन’ उनी हाँस्दै भन्छन् ।

संगठन राम्रो बनाउनु पर्छ भनेर हामी राजनीतिमा लागेका हौ, त्यो व्यवस्था पनि आयो तर जसरी चल्नु पथ्यो त्यो अनुसार नलचेको देख्दा कता–कता मन दुख्छ उनी भन्छन् । त्यो बिचमा नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको शासन थियो जो राजा महेन्द्रले निरंकुश शासन चलाएका थिए । त्यसै व्यवस्थाको विपक्षमा महामानव विपि कोइराला ज्यूले प्रतिपादित नेपाली काँग्रेस पार्टी गठन गरेर नेपाली जनतालाई स्वतन्त्र बनाउने अभियानमा लाग्नु भयो र हामी पनि यही सिद्धान्तलाई अंगालेर आइरहेका छौं उनी भन्छन् ।

२०५० सालदेखि नेत्रज्योति संघमा आवद्ध
कृष्णकुमार गिरी नेपाल नेत्रज्योति संघ दाङमा २०५० सालदेखि आवद्ध छन् । उनी २०५० सालमा जिल्ला कार्यसमितिको निर्वाचन पश्चात सदस्य पदमा निर्वाचित भएका थिए । सदस्य, कोषाध्यक्ष हुँदै २०५२ सालदेखि २०७२ सालसम्म निरन्तर नेपाल नेत्रज्योति संघ दाङ शाखाको सचिव भएर आँखा स्वास्थ्य सेवामा समन्वयकारी भूमिका निर्वाह गरे । २०७२ सालदेखि हालसम्म (दुई कार्यकाल) नेपाल नेत्रज्योति संघ दाङ शाखाको सभापति एवं आँखा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भई आँखा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गरिरहेका छन् ।

नेपाल नेत्रज्योति संघ दाङको सेवा प्रवाह गर्ने कार्यक्षेत्र दाङ, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, प्युठान र कपिलवस्तु जिल्लाको बहादुरगञ्ज तथा आवश्यकताअनुसार कर्णाली प्रदेशको कालिकोट, जुम्ला र बर्दियामा समेत गई आँखा स्वास्थ्य सेवा संलग्न रहेको छ । १ सालसम्म साझा संस्था, तुलसीपुर दाङको उपाध्यक्ष हुँदै अध्यक्ष भएर काम गरेका थिए । २०३९ सालदेखि २०४१ सालसम्म महेन्द्र मावि तुलसीपुरको व्यवस्थापन समिति सदस्य, २०४३ सालदेखि २०५० सालसम्म गुरुजजुर मा.वि. दाङको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका हुन् ।

त्यसैगरी २०४० सालमा नेपाल रेडक्रस सोसाइटी दाङबाट आजिवन सदस्य प्राप्त गरेका थिए । हाल नेपाल नेत्रज्योति संघ केन्द्रीय सदस्य, कर्णाली प्रदेश संयोजक र लुम्बिनी प्रदेश उपसंयोजक, नेपाल नेत्रज्योति संघ दाङ शाखाको सभापति एवं आँखा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भई आँखा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गरिरहेको तथा हालसम्म लाभको पद ग्रहण नगरेको उनी बताउँछन् ।

वैवाहिक जीवन
कृष्णकुमार गिरीले २०२९ साल फागुन ८ गते घोराहीबाट बिहे गरेका थिए । ‘फागुन ८ गते मेरो बिहे थियो फागुन ७ गते राति पञ्चायती व्यवस्था विरुद्धमा देशभर पम्प्लेट छिट्नु पर्ने थियो मैले पनि सात गते रातभरी मेरो एरियामा पम्प्लेट छिटे बिहान ८ गते म दुलाहा बनेको थिए’ उनी हाँस्दै भन्छन् । ८ गते जन्ति गएर ९ गते घर फर्किएको, १० गते घर बसे फागुन ११ गते ससुराली गएर १२ गते घर फर्किदै गर्दा कृष्णका साथीहरु यमप्रसाद पाण्डे र किर्तिबहादुर खड्कालाई पुलिसले पक्राउ गरिसकेको थियो । त्यसपछि फागुन १३ गते कृष्ण सुतिरहेकै बेला उनको घरमा प्रहरी आयो । प्रहरीहरुलाई चिया नास्ता खुवाएर आफु पनि खाएपछि प्रहरीले उनलाई लग्यो ।

प्रहरीले आफुलाई घरबाट लैजादै गर्दा आफ्नो आमाले बुवा पनि जेल बस्नु भएको थियो, छोरा पनि जेल बस्ने भइस, नआत्तिएर आफ्नो कुरा राख्नु भनेर सम्झाएको उनी बताउँछन् । त्यसपछि उनी दुई वर्षसम्म जेलमा बसे ।

उनी जेलमा बसेको बेला उनको श्रीमती अरुसँग बिह गरेर गइन् । श्रीमतीले अरुसँग बिहे गरेर गएको दुई महिनापछि कृष्ण जेलबाट छुटे । म दुई महिना अगाडि छुटेको भए मेरो घरगृहस्थी बिग्रिने थिएन उनी भन्छन् । त्यसपछि कृष्ण २०३२ सालमा असारमा हापुर रतनपुरबाट अमृता गिरीसँग दोस्रो बिहे गरे ।

अहिले अमृतासँगै छन् । आफ्नो जीवन साथीबाट राम्रो साथ सहयोग पाएर आफु अहिलेको स्थानसम्म पुग्न सफल भएको उनी बताउँछन् । विभिन्न परिस्थितिमा नेताहरु रातीको समयमा मेरो घरमा आउनुहुन्थ्यो रातीमा उठेर नेताहरुलाई खाना बनाएर खुवाउने काम अमृताले गर्थिन उनी भन्छन्् । अहिले उनका एक छोरा र तीन छोरी छन् । अहिले सबै छोराछोरीहरु बाहिर देशमा रहेका छन् । छोराछोरीहरुलाई राम्रोसँग बढाएर अमेरिका, अष्ट्रेलिया, युरोपसम्म पठाउन सफल भएकोमा आफु एकदमै खुशी रहेको बताउँछन् । तर जुन किसिमको माया ममता छोरीहरुले बुवा आमालाई गर्छन् त्यो अनुसारको छोराहरुले नगरेको महशुस आफुले गरेको उनी बताउँछन् । ‘छोराले माया नै गर्दैनन् भन्न खोजेको होइन तर बढी स्नेह छोरीहरुले बुवा आमाप्रति गर्ने रहेछन् कृष्ण भन्छन्’ ।

छोराछोरीहरु बाहिर बसेर राम्रो काम गर्नु आनन्दको कुरा त छ नै तर कहिले काही अप्ठेरो परेको बेला बिरामी भएको समयमा छोराछोरीहरुको धेरै सम्झना आउने गरेको बताउँदै उनी भन्छन् त्यसकारण अहिले छोराछोरीहरुलाई बाहिर नपाठाएको भए हुन्थ्यो जस्तो लाग्ने गरेको उनी बताउँछन् । आफुले नेपालमै केही गरेर बुवाआमाको नजिक बस्न सबैलाई आग्रह गर्ने गरेको उनको भनाई छ ।

राजनीति र समाजसेवालाई सँगसँगै लिएर हिड्दा आफुलाई एकदमै सन्तुष्टि मिलेको बताउँने गिरी अबको जीवन राजनीति गर्दै आफ्नो संस्थालाई इमान्दारिताका साथ काम गरेर अगाडि बढ्ने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया