तुलसीपुर
१८-चैत/ तुलसीपुर मेट्रो कलेजमा एकैसाथ ३ वटा तालिमको उद्घाटन गरिएको छ । विभिन्न संस्थाको सहयोगमा कलेजले सञ्चालन गर्न थालेका तालिमहरुको नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।

युवाहरुलाई सीप सिकाएर स्वरोजगार वनाउनका लागि कलेजले ३ महिने विल्डिङ्ग इलेक्ट्रिसियन, मोबाइल रिपेयरिङ्ग र ब्युटिपार्लर सम्बन्धी तालिम सञ्चालन गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । तालिमको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्नका लागि विभिन्न सीपमुलक तालिमको व्यवस्था गरिएको बताए ।

‘सीप नजानेकोलाई सीप र सीप भएकोलाई अवसर सृजना गर्र्ने काम हामीले गरेका छौ’ नगरप्रमुख पाण्डेले भने । चुनावी प्रतिवद्धता अनुसार नमुना प्राविधिक शिक्षालयको सपना पुरा भएको बताउँदै यसलाई थप विस्तार गरेर नेपालकै नमुना शिक्षालय वनाइन लागेको सुनाए ।

सीपलाई रोजगारीका साथै सेवामा पनि परिवर्तन गर्न सके समाजको विकास हुने उनको जोड थियो । ‘हामी सधै अर्कालाई मात्रै चिन्छौ तर जुन दिन हामीले आफुलाई चिन्न सक्छौ त्यही दिनबाट हाम्रो प्रगति सुृरु हुन्छ’ युवाहरुलाई उत्प्रेरित गर्दै पाण्डेले भने । प्राविधिक सीपसँगै नयाँ नयाँ खोज र आविष्कारमा पनि ध्यान दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नगर प्रवक्ता सुर्यबहादुर डाँगीले सीपले रोजगारी सृजना गर्ने हुँदा राम्रोसँग सिक्नका लागि सुझाव दिएका थिए । ‘सीप सिकेको मान्छेले केही न केही काम पाएकै हुन्छ त्यसकारण हामीले सीप सिक्नु निकै आवश्यक छ’ डाँगीले भने ।

कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य शान्ता पुन, प्रशिक्षक खिमराज नेपाली लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण तिला ढकालले गरेकी थिइन् । तालिममा तुलसीपुरका विभिन्न क्षेत्रका ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

३ महिने विल्डिङ्ग इलेक्ट्रिसियन र मोबाईल रिपेयरिङ्ग तालिम सिटिइभिटीको सहयोगमा सञ्चालन गरिएको हो भने ब्युटिपार्लर तालिम वडा नम्बर १२ को सहयोगमा सञ्चालन गरिएको हो ।

प्रतिकृया

प्रतिकृया