तुलसीपुर
२२-चैत/ तुलसीपुर ६ शिवशक्ति टोल (कुकरे भसना) बस्ने तारा प्रसाद परियारलाई एउटा घटनाले सधै झस्काई रहन्छ । जुन घटना उनको लागी जिवनभर भयानक र कहाली लाग्दो छ । विगतको तुलनामा पछिल्लो समय उनले त्यो पिडा,वेदना र घटना भुल्न खोजे पनि बारम्बार झस्काउने गरेको छ । घटना २०६८ मंसीर ८ र ९ गतेको हो । उनको घरबास अर्कैले भत्काई दिएका थिए । घरबास तहसनहस भएको थियो । जसोतसो घरबास बनाएर बसेका उनको घरमा आगो र डोजर लगाएर भत्काईएको थियो । त्यहि घटनाले गर्दा उनको घरपरिवारको अवस्था अझै नाजुक नै छ । उनको घरमा पाँच जनाको परिवार छ । दुई छोरा र एक छोरी छन । सोहि घटनाले गर्दा जेठो छोराले मानसिक सन्तुलन समेत गुमाएको पिडित परियारले बताए ।

           


उनी भन्छन्,त्यति बेला मेरो जेठो छोरा अलि चाल पाउने भईसकेको थियो, त्यसरी घरमा आगो लगाएर भत्किएको उसको आँखाले देख्दा छोरा बेहोस हुन पुग्यो । हामी सबैको रुवाबासी भयो, जसले गर्दा त्यतिबेला जेठो छोराले मानसिक सन्तुलन गुमाउन पुगेछ । अहिले पनि जेठो छोरा असामान्य अवस्थामा छ । बनेको कच्ची घर र बन्दै गरेको पक्की घर दुई दिनमै नष्ट हुदा त्यतिबेला आठ लाख बराबरको धनमाल क्षति भएको उनी बताउँछन ।

तर उनले उक्त घटना पछि पिडकलाई कारवाही र उचित क्षतिपुर्तिको माग गर्दै टोल विकास संस्था हुदै, प्रहरी प्रशासन ,तत्कालिन तुलसीपुर नगरपालिका, अधिकारकर्मी, नेता हुदै जिल्ला प्रशासन कार्यालयमा समेत बारम्बार धाए । धेरैबाट आश्वासन पाएपनि अहिले सम्म उनले न्याय पाउन सकेका छैनन । न्याय पाउने आश अझै उनले मारेका छैनन । तर न्याय पाउन पनि सकेका छैनन । घटना भएको दश वर्ष भन्दा बढि समय बित्यो । यो देशमा मेरो न्यायका लागी कानुन छ जस्तो लाग्दैन उनले भने, यदि भए त मैले न्याय पाउथे होला, मेरो कुरा न्यायलयले सुन्थ्यो होला ।

 

घटना कसरी भयो ?
तारा प्रसाद परियारको घर पहिले शान्तीनगर गाविस हो । शान्तिनगर बस्ने बेलामा उनले अन्र्तरजातिय विवाह गरे । चौधरी समुदायको चेलीलाई उनले विवाह गरे । विवाह पछि माइती पक्षले २०३६ साल देखी भोग चलन गदै आएको कुकरे भसना स्थित एक कठ्ठा दश धुर जग्गा उनको श्रीमतीको नाममा २०५६ सालमा दिए । २०५६ सालमा शान्तिनगरबाट तुलसीपुर ६ शिबशक्ति टोलमा बसाईसराई गरी आएका परियारका ससुरा स्वर्गिय पतिराम चौधरीले भोगचलन गदै आएको उक्त ऐलानी जग्गा २०५६ सालमा उनको श्रीमती शारदा चौधरीको नाममा दिए ।

त्यसपछि २०५६ सालदेखी परियारको परिवारले भोग चलन गर्न सुरु गरेपछि तत्कालिन तुलसीपुर नगरपालिकाले २०५७ सालमा भोग चलन गरि आएको भनि प्रमाण समेत दियो । त्यतिबेला नगर प्रमुख ढुण्डीराज लामीछाने थिए । तर भोगचलन गरेको एक दशक पछि २०६७ सालमा टरिगाउँका कुलारी ( सिचाई कुलो प्रयोग गर्ने कुकरे भसना कुलो बनाउने कुरा चल्यो । कुकुरे भसना( बरुवागाउँले कुलो अर्थात दमा कुलोमा ठुलो चिरा परेको हुदा खाडल पुर्नलाई नजिकै रहेको तारा प्रसाद परियारको जग्गाबाट माटो लैजाने भन्दै तत्कालिन सिंचाई कुलो उपभोक्ता समितिका अध्यक्ष भिम प्रसाद भण्डारीको एक समुह आयो । तर तारा प्रसाद परियारले नमाने पनि छलफल गदै जाँदा अन्तत उनले कुलोको लागी आफनो जमिनको माटो दिने सहमती भयो ।

सहमतीमा जग्गाको माटो लैजाने तर परियारको अन्य क्षति केहि नगर्ने भन्ने कागज भयो । उक्त कागज गर्ने क्रममा भिम प्रसाद भण्डारीको पनि हस्ताक्षर छ । तर सनाखत गरेको एक वर्ष पछि २०६८ मंसीरमा भण्डारी लगाएतको एक समुह एक्कासी आएर महेन्द्र स्कुलको जग्गा पर्दछ भन्न थाले । तत्कालिन महेन्द्र स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका भण्डारी सहितको टोलीले यो स्कुलको जग्गा हो यहाँ बस्न पाईदैन भन्दै परियारका परिवारलाई घर छोड्न दवाव दिन थाले । यद्यपी पिडित परियारले घर छोड्न मानेनन ।

पिडित परियारको भनाई अनुसार २०६८ मंसीर ८ गते उनी घरमा नभएको मौका छोपेर एक्कासी भण्डारीको अघुवाईमा आएको समुहले कच्ची घरमा आगो लगाउनुको साथै बन्न लागेको घर समेत डोजर लगाएर भत्काएको हो । घरमा आगजनी भएपछि मात्रै आफुले थाहा पाएको परियारको भनाई छ । आगलागी पश्चात घर पुग्दा सवै जलेर नष्ट भएको उनले बताए ।

न्याय खोज्दै नगरपालिका देखी सिडिओ कार्यालय सम्म
घटना भएपछि पिडित तारा प्रसाद परियारले भिम प्रसाद भण्डारीको नाममा उजुरी दिन थाले । उनले टोल विकास संस्था संग हारगुहार गदै तत्कालिन तुलसीपुर हुदै सिडिओ कार्यालय सम्म पुगे । घटना घटनाले भण्डारीकै योजना भएको आरोप लगाउदै उनले न्यायका लागी उजुरी दिन सुरु गरे । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले न्यायका लागी जिल्ला प्रशासन कार्यालय घोराही जान सुझाव दिए ।

घटना भएको केहि समय पछि न्याय माग्दै नगरपालिका पुगेका उनी जिल्ला प्रशासन कार्यालय जानु प¥यो । पिडित परियारले तुलसीपत्र संग विगत सम्झदै भने सिडिओ कार्यालय गए तर कर्मचारी भनेको समयमा पाईन । उनका अनुसार न्यायका लागी जिल्ला प्रशासन कार्यालय धेरै पटक धाउनु प¥यो । टोलमा पनि धेरै पटक छलफल भयो । मैले न्याय पाउन सकिन । फेरी २०७३ सालमा न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगे ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपक काफले थिए । त्यतिबेला बल्लतल्ल निवेदनको सुनुवाई भएको उनी बताउँछन ।तत्कालिन सिडिओ काफलेले न्याय दिने आश्वासन पनि दिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले २०७३/३/१४ गते तुलसीपुर उपमहानगरपालिका कार्यालयलाई पत्राचार गदै घटनाको स्पष्ट विवरण खुलाई पठाउन भन्यो ।

त्यतिबेला तत्कालिन नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी थिए । उनले ५ वटा बुँद्धामा घटनाको विवरण खुलाई २०७३/४/१२ गते जिल्ला प्रशासन कार्यालय घोराही पठाए । त्यसपछि प्रशासनले २०७३/४/१६ गते जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी भिम प्रसाद भण्डारीलाई २०७३ साउन २३ गते कार्यालयमा उपस्थित गराउन भने पछि प्रहरीले आरोपित भण्डारीलाई उपस्थित गरायो ।

उक्त दिन दुवै पक्ष बिच घटनाका सम्बन्धमा छलफल भई २०७४/५/२३ गते विहान दश बजे कार्यालयमा उपस्थित हुनेछु भनि आरोपित भण्डारीले हस्ताक्षर गरे । तर आरोपित भण्डारी त्यसपछि नत जिल्ला प्रशासन कार्यालय गए ,नत पिडितले न्याय पाए ।यसको कुनै सुनुवाई नभएपछि पिडित पक्षले २०७५ सालमा तुलसीपुर न्यायिक समितिमा क्षति पुर्तिको माग गदै उजुरी दिएका छन् । तर अहिले सम्म कुनै टुङग्यो लागेको छैन ।

को हुन् भण्डारी
तुलसीपुर १२ निवासी भिम प्रसाद भण्डारी राजनितिककर्मी पनि हुन । यसका साथै उनले विभिन्न सामाजिक संघसंस्थामा पनि काम गर्दै आएका छन् । उनी नेपाली कांग्रेस तुलसीपुर नगर उपसभापति भएर कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका छन् । यस्तैगरी तत्कालिनमहेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षक अभिभावक संघको अध्यक्ष समेत भएका काम गरे ।पछिल्लो समय स्वास्थ्यले साथ नदिएकै कारण उनी राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुन सकेका छैनन ।

घर परिवार नै डिप्रेसनमा
सोहि घटनाले गर्दा अझै पनि बेला बेलामा झस्कने गर्दछु । दैनिकी मजदुरी गरेर घरबास बनाएको थिए उतिबेला । तर अपराधी समुहले घरबासनै सखाप पारिदियो । त्यसकारण मेरो परिवारमा उच्च गरीवीले सतायो । उक्त घटनाले गर्दा मेरो सम्पत्तीको सर्वस्व नोक्सान भयो उनले भने त्यहि नोक्सानले गर्दा अझै पनि म गरीवीमै छु । जसले गर्दा सम्झदा अझै मेरो परिवार डिप्रेसनमा छ ।उतिबेला साहुहरु संग लिएको ऋण अहिले सम्म तिर्न सकेको छैन ।

मेरो कुनै संलग्नता छैन : भण्डारी
तुलसीपुर १२ का भिम प्रसाद भण्डारीले आफु माथी लगाईएको आरोप निराधार भएको जिकिर गरे ।घटना भएको सत्य कुरा भएपनि आफु माथी लगाईएको आरोप झुठ्ठो र आधारहिन भएको उनले तुलसीपत्रलाई बताए ।

महेन्द्र स्कुलको जग्गा अतिक्रमण गरेर बस्ती बसेपछि विद्यालय,स्थानिय र अभिभावकहरुले परियार सहित अन्य बस्ती समेत हटाएको उनले बताए ।बस्ती हटाउने क्रममा आफु पनि विद्यालय संग सम्बन्धित भएकाले सहभागी मात्रै भएको उनले बताए । तर मेरो नाम जोडेर बारम्बार टचर दिने काम भएको उनले भने, यो मैले बुझन सकेको छैन ।

परियारको मात्रै घर नभएर अन्य अतिक्रमितहरुको पनि घरटहरा भत्काईएको उनले बताए । उक्त घटना बारे यस क्षेत्रका सम्पुर्ण राजनितिक, मानव अधिकारकर्मी, नागरिक समाज लगाएत सरोकारवाला सबैलाई थाहा भएको बताउदै उनले आफनो बदनाम गर्ने काम परियारले गरेको आरोप लगाए ।

प्रतिकृया

प्रतिकृया