पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत । उनको जन्म २०१८ साल माघ १७ गते साविक बिजौरी गाविस वडा नं. ४ हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुरमा भएको थियो । उनी बुवा लाल बहादुर रावत र आमा निमा रावतका जेठो छोरा हुन् । उनको वाल्यकाल हेमन्तपुरमै बितेको थियो । आफ्नो वाल्यकाल शुखमय तरिकाले बितेको उनी बताउँछन् ।

उनी सानै देखि बिद्रोही स्वभावको थिए । सानै उमेरमा राजनीतिमा आवद्ध भएकाले विद्यालयमा शिक्षकहरुसँग डिल्लीको विवाद बढी हुन्थ्यो । शिक्षकहरुसँगको विवादका कारण उनले धेरै विद्यालय फेर्नु परेको थियो । खासगरी राजनीतिको विषयमा उनको शिक्षकहरुसँग विवाद हुने गथ्र्यो । घरको कामहरु गर्ने अन्य व्यक्तिहरु भएकाले पनि आफुलाई घरको कामहरु केही गर्न नपरेको उनको भनाई छ । रावतका सानो बुवा हेड मास्टर थिए । डिल्ली पनि आफ्नो सानो बुवा जहाँ सरुवा भएर पढाउन जान्थे सानो बुवासँग डिल्ली पनि त्यही पढ्न जान्थे ।

डिल्ली कक्षा एक बनकट्टाको स्कुलमा पढे । त्यसपछि उनी बेलझुण्डी स्कुलमा पढ्न आए उनले त्यहाँ २ कक्षा मात्रै पढे । बेलझुण्डीमा एक वर्षको पढाइपछि उनी दुधरास स्कुलमा पढ्न गए । कक्षा ३ र ४ उनी दुधरास स्कुलमा पढे । त्यसपछि कक्षा पाँचदेखि सात कक्षासम्म बिजौरी स्कुलमा पढे । बिजौरीमा संस्कृत पढाइ हुने भएकाले उनी फेरी तुलसीपुरमा रहेको महेन्द्र स्कुलमा पढ्न आए । नौ कक्षा पढ्ने समयमा राजनीतिकरुपमा शिक्षकहरुसँग डिल्लीको विवाद भयो । महेन्द्र स्कुलको हेड सरले डिल्लीलाई माफी माग्न लगाए तर डिल्लीले माफी नमागेपछि उनका अभिभावकहरुलाई बोलाएर सर्टिफिकेट दिएर स्कुलले डिल्लीलाई अन्त गएर पढ्न भन्यो । त्यसपछि उनी घोराहीमा रहेको पद्मोदय स्कुलमा पढ्न गए । २०३८ सालमा उनी बनारसमा गएर एसएलसी पास गरे । २०४० सालमा आईए पास गरेपछि उनको पढाइ रोकियो ।

१० कक्षा पढ्ने बेला जेलमा परे

डिल्ली बहादुर रावत कक्षा १० मा पढ्ने बेलामा जेलमा परेका थिए । त्यो समयमा डिल्ली रावत आफ्नो साथी डिल्ली अधिकारीसँग बिजौरी स्कुलमा हड्ताल गराउन आएका थिए । विद्यार्थीहरु स्कुलमा हड्ताल गर्न आएको कुरा प्रहरीले थाहा पाइसकेको रहेछ । स्कुलमा आएर भाषण गर्ने क्रममा प्रहरीले आफुहरुलाई घेरा हालेर पक्राउ गरेको उनी बताउँछन् । जेलबाट छुटेपछि केही समय उनी भारतमा बसे । वाल्यकालमा खेलकुदतिर पनि डिल्लीले रुची राख्दथे । भारतबाट पढेर आइसकेपछि भोजपुर स्कुलले उनलाई खेलकुद खेल्नको लागि बोलायो । उनी खेल खेल्नको लागि भोजपुर स्कुलमा पुनः १० कक्षामा भर्ना भए । त्यसपछि अर्को वर्ष उनलाई निंघुवार स्कुलले खेलकुदमा लागि बोलायो । निंघुवार स्कुलबाट देउखुरीमा उनी गेम खेल्न भए । त्यही क्रममा बनारसबाट एसएलसी पास गरेको व्यक्ति दाङमा आएर खेलकुद खेल्न नमिल्ने भन्दै भोजपुर स्कुलका हेडसर लोकमणीले लिखितरुपमा बिरोध गरेपछि खेल रोकियो । त्यसपछि डिल्लीलाई छलफलका लागि बोलाइयो । डिल्लीले नेपालबाट आफुले एसएलसी दिन पाउने की नाई ? भनेर प्रश्न गरे त्यहाँ उपस्थित सबैले पाउनु हुन्छ भनेपछि उनले आफुले निंघुवार स्कुलमा भर्ना भएको कुरा जानकारी गराए । त्यसपछि उनलाई एक वर्षसम्म मात्रै खेलकुद खेल्न पाउने कागज गराए । कागज गराएको एक वर्षपछि उनी खेलकुद खेल्न छोडे ।

त्यसपछि उनी केही सयम नेकपा मालेको राजनीतिमा सक्रिय भए । डिल्ली त्यसपछि भारतमा गएर पाँच÷छ वर्षसम्म त्यही राजनीति गरेका थिए । त्यसपछि २०४२ सालमा उनी पुनः नेपाल फर्किए । त्यही समयमा नेपालमा बम काण्ड भयो । बम काण्डमा डिल्लीको नाम जोडिन लागेको बेला २०४३ सालमा चुनाव भयो । उनी बिजौरी गाविसको उपप्रधान पञ्चमा अत्याधिक मत ल्याएर विजय भए । चुनाव जितेको एक वर्षपछि उनले जिल्ला सभामा बहुदलको माग गरेपछि उनलाई प्रहरीले गिरफ्तार गर्यो । उनी २०४६ सालमा देशमा बहुदल आएपछि नेपाली कांग्रेसका नेता खुम बहादुर खड्का सँगसंगै जेलबाट छुटे । जेलबाट छुटेसँगै आफु वातावरणीय क्षेत्रमा लागेको उनी बताउँछन् ।

राज्य सत्ता अन्त्य गर्ने सोच थियो

डिल्ली रावत वाल्यकालमा आफुले भविष्यमा गएर यो बन्छु भन्दा पनि देशबाट सामन्तिसत्ता अन्यसँगै राजतन्त्रको अन्त्य गर्नुपर्छ भन्ने सोच राखेको बताउँछन् । देशमा राजतन्त्रको अन्त्य गरेर राम्रो सामाजिक व्यवस्था बनाइ साम्यवादी व्यवस्था बनाउनु पर्छ भन्ने इच्छा राखेको उनी बताउँछन् । आफु जेलबाट निस्केपछि डा. देवेन्द्रराज पाण्डे, टंक कार्की, डिवी सिंह र आफु मिलेर लोकदल नामक पार्टी खोलेको उनी बताउँछन् । उक्त पार्टीको केन्द्रीय सचिव थिए डिल्ली । पार्टी स्थापना गरे लगत्तै चुनाव भयो । चुनावमा लोकदल पार्टी पनि चुनावमा सहभागी भयो तर चुनाव हारेपछि जनताहरुले स्वीकार गरेनन् भनेर आफुहरुले पार्टी विघटन गरेको उनी बताउँछन् । त्यसपछि आफु कुनै पार्टीमा आवद्ध नभई स्वतन्त्र भएर बसेको उनी बताउँछन् । राजनीतिबाट विश्राम लिएपछि वातावरणीय आन्दोलनमा आफुलाई सरिक बनाएको उनको भनाई छ । सुरुवाती दिनहरुमा वातावरण सम्बन्धी लेखहरु उनले नेपाललगायत अमेरिका, बेलायतबाट प्रकाशित हुने पत्रिकाहरुमा समेत लेखेका थिए । त्यसपछि २०६३ सालमा साथीहरुसँग मिलेर पर्यावरणीय दिगो विकास केन्द्र स्थापना गरेको उनी बताउँछन् । अहिले गिद्ध संरक्षणको काम आफुहरुले गर्दै आएको उनी बताउँछन् ।

अहिले डिल्ली बहादुर रावत पर्यावरणीय दिगो विकासको अध्यक्षसहित, गिद्ध संरक्षण राष्ट्रिय सञ्जालको अध्यक्ष पनि हुन् । आफुले गरिरहेको कामबाट आफु सन्तुष्ट रहेको उनको भनाई छ । आफ्नो संस्थाले जिल्ला वन कार्यालयबाट दाङको वातावरण संरक्षणको क्षेत्रमा उत्कृष्ट काम गरेर पुरस्कृत भएको उनको भनाई छ । साथै नेपाल सरकारले वातावरणीय राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको थियो । यसको साथै विभिन्न संस्थाबाट राष्ट्रिय पुरस्कारबाट सम्मान गरेकोले सरकार तथा विभिन्न संघसंस्थाहरुबाट सम्मानित भएकाले आफु सन्तुष्ट रहेको उनी बताउँछन् । ‘पहिला मैले वातावरण सम्बन्धी लेख लेख्दै गर्दा धेरैले विदेशी डलर ल्याएर लेख लेख्छ भन्ने गर्नु हुन्थ्यो, आज उहाँहरु आफै वातावरण सम्बन्धी लेखहरु लेख्नु हुन्छ, त्यसैले पनि म सन्तुष्ट छु’ उनी भन्छन् । वातावरण बिनास र प्रदुषणका कारण पृथ्वीबाट मानिसको अस्तित्व लोभ हुने अवस्था देखेपछि आफुले वातावरण सम्वन्धि लेखहरु लेख्न थालेको उनी सुनाउँछन् ।

तालिमको प्रशिक्षकहरुसँग विवाद

काठमाडौंमा एक पटक विज्ञान सम्बन्धी तालिम सञ्चालन भयो । डिल्ली पनि नयाँ युगबोध राष्ट्रिय दैनिकमा लेखहरु लेख्ने भएकाले उक्त तालिममा उनी पनि सहभागी भए । तालिममा प्रशिक्षकहरुले जलवायु परिवर्तनका कारणको बारेमा जानकारी दिन थाले । यो कुरा डिल्लीलाई मन परेन । उनले जनवायु परिवर्तन नभए पृथ्वी कि त तातो मात्रै हुन्थ्यो, कि त चिसो मात्रै हुन्थ्यो, यहाँ मानव अस्तित्व रहँदैनथ्यो, जलवायु परिवर्तन भएर अहिले प्राणी यो अवस्थामा आएको हो, जलवायु परिवर्तन भनेर किन सिकाउनु हुन्छ, बरु अप्राकृतिक जलवायु परिवर्तन भनेर सिकाउनुस भनेर प्रशिक्षकहरुसँग विवाद गरे । त्यसपछि त्यहाँका प्रशिक्षकहरुले हुनु पर्ने अप्राकृतिक भए पनि चलनचल्तीमा आएको विषय जलवायु परिवर्तन भनेर जवाफ दिए तर तालिम अवधिभर अप्राकृतिक जलवायु परिवर्तन भनेर सिकाएका थिए ।

वैवाहिक जीवन

डिल्ली बहादुर रावतले पहिलो विवाहा २०४१ सालमा तत्कालीन रामपुर गाविसको बालापुरबाट मागी विहे गरेका थिए । विहे भएको दुई वर्षपछि उनको श्रीमतीको मृत्यु भयो । त्यसपछि उनी २०५२ सालमा चितवनको भरतपुरबाट मागेरै दोस्रो बिहे गरे । आफु राजनीति गर्ने क्रममो श्रीमतीको सानी आमाको छोरासँग भेट भएको र त्यही क्रममा विवाहको कुरा चलेर बिहे भएको उनी बताउँछन् । आफ्नो जीवन साथी सबैका सामु आफ्ना कुराहरु प्रष्ट रुपमा राख्न सक्ने क्षमता भएकाले त्यो कुरा एकदमै मन परेर बिहे गरेको उनी बताउँछन् । आफुले कल्पना गरेभन्दा पनि राम्रो जीवन साथी पाएको उनी बताउँछन् । बिहेपछि अहिलेसम्म आफुले एउटा कपडा समेत नकिनेको र सम्पूर्ण घर व्यवहार जीवन साथीले चलाएको उनी बताउँछन् । उनका एक छोरा एक छोरी छन् । अवको बाँकी जीवन पनि वातावरण क्षेत्रमा काम गरेर बिताउँने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया