घोराह,
१५-वैशाख/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  का नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले संविधानको रक्षा गर्न र प्रतिगमनलाई पराष्ट गर्न वर्तमान गठबन्धनलाई वलियो बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन र प्रेस सेन्टर दाङले सयुक्त रुपमा बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले माओवादी र नेपाली कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएको भन्दै आसन्न निर्वाचनमा गठबन्धनले नजिते मुलुकमा अस्थीरता हुने बताएका हुन् ।

महराले अहिलेको गठबन्धन पनि संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति निर्माण भएको जिकिर गरे । माओवादी र कांग्रेस विगतदेखि नै राष्ट्रियताको पक्षमा भएको बताउँदै उनले कांग्रेस र माओवादी लोकतन्त्रको पक्षमा उभिने र त्यसलाई संस्थागत गर्ने तर्फ साझा रुपमा अघि बढ्दै आएको बताए । पूर्व सभामुख महराले संविधान र जनताको अधिकार माथि ‘कु’ गर्दै मुलुकलाई अन्यौल र अस्थिरता तर्फ लैजान खोज्नेहरुविरुद्ध उभिनुपर्ने बेला आएको बताए ।

पूर्व सभामुख महराले २०७२ सालको संविधान उल्टाउने प्रयास भएकोले अहिले नयाँ परिस्थिति आएको र यो लडाई प्रतिगमन र अग्रगमन बीच भएको बताए । महराले केपी ओलीले २०७२ सालको संविधान निर्माणको समयमा नै गणतन्त्र र संघियताको पक्षमा नभएको आरोप लगाउँदै त्यो वेला कांग्रेस र माओवादीकै अडान र समझदारीका कारण संघीय गणतान्त्रिक संविधान बनेको दावी गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई वलियो बनाउनु पर्ने बताए ।

उनले शान्ति प्रक्रियामा आएपछि विगतका द्वन्द्वकालीन कुरा विर्सनु पर्ने बताए । गिरीले कांग्रेसको घोषणापत्रप्रति एमाले अध्यक्ष ओलीले गरेको टिप्पणीप्रति खेद व्यक्त गर्दै मानसिक उपचार गर्न सुझाव दिए । नेता गिरीले हिजो स्मार्ट सिटीका कुरा गर्नेहरु आज दुलोभित्र पसेको बताउदै तुलसीपुर उपमहानगरपालिकालाई विद्युत लाइन काटिने अवस्थामा ल्याउनुका साथै चारलेन सडक अस्तव्यस्त पारेको आरोप लगाए । नेपाल प्रेस युनियनका कार्यवहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया