काठमाडौं
२२-वैशाख/ धादिङ्गकी १८ वर्षीया एक किशोरीलाई केही दिनदेखि लगातार पेट दुखिरहेको थियो । महिनावारी भएकी थिइनन् । तर योनिबाट भने रगत बगिरहेको थियो । रगत बग्न नरोकिएपछि ती किशोरी सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रंगीना लाइकमबमको सम्पर्कमा आइन् । ती युवतीले दैनिकजसो नै उनलाई अनेकौ जिज्ञासा राख्न थालिन् ।

‘आकस्मिक गर्भनिरोधक चक्की खाएपछि बेस्सरी पेट दुख्यो भने के गर्नेरु रगत पनि देखापरेको छ के गर्ने ? लगायतका जिज्ञासा राख्दै उहाँ र उहाँको पार्टनरले निरन्तर मलाई फेसबुकमा म्यासेज गर्नु भएको थियो’ डा रंगीनाले भनिन् । ती युवतीले आफ्नो सबै मेडिकल रिपोर्टहरु फेसबुकमै डा रंगीनालाई पठाइन् । उनका अनुसार यौन सम्पर्कपछि ती युवतीले आकस्मिक गर्भ निरोधक चक्की पिल्स सेवन गरेकी थिइन् ।

पिल्स खाइसकेपछि पनि ती युवती गर्भवती भइन् । तर उनको गर्भ पाठेघरमा नभई गर्भनलीमा गएर बस्यो । उनको अवस्था सामान्य थिएन । डा रंगीनाले तत्काल अस्पताल भर्ना गरेर शल्यक्रिया गर्न सुझाव दिइन् । ‘ती युवती पिल्स खाएपछि पनि गर्भवती भएकी थिइन् । उनको गर्भ पाठेघरमा नभई गर्भनलीमा बसेको भएर मैले जहाँ हुनु हुन्छ त्यहाँको अस्पतालमा तत्काल भर्ना गर्नु नत्र ज्यानलाई खतरा छ भनेर सुझाव दिए’ उनले भनिन्, ‘त्यसपछि उहाँहरु सम्पक विहीन हुनुभयो । ती युवतीको अवस्था जटिल थियो ।’

काठमाडौंकी अर्की १८ वर्षीया एक युवती पनि लगातारको पेट दुखाईपछि अस्पताल पुगिन् । एपेन्डिसाइटीस भएको आशंकामा उनले भिडियो एक्सरे गरिन् । तर रिपोर्ट सामान्य देखिएपछि चिकित्सकले गर्भ जाँच गराउन सुझाव दिए । परीक्षणपछि उनको पेटमा गर्भ रहेको देखियो । तर ती युवतीको पनि पाठेघरमा नभई गर्भनलीमा गर्भ बसेको थियो । ती युवतीले पनि असुरक्षित यौन सम्पर्कपछि आकस्मिक गर्भनिरोधक चक्की पिल्स खाएकी थिइन्। पिल्स खाएपनि उनको गर्भ रहन गएको ती चिकित्सकले बताए ।

आकस्मिक गर्भनिरोधक चक्की शतप्रतिशत विश्वासिलो नहुने डा रंगीना बताउँछिन्। पिल्सको प्रयोगपछि पनि गर्भ रहने गरेको उनले बताइन्। जसमा अधिकांश युवतीमा एक्टोपिक प्रग्नेन्सी अर्थात् पाठेघरमा नभई गर्भनलीमा गएर गर्भ बस्ने समस्या हुन्छ। गर्भनलीमा बसेको बच्चा ६ हप्ता, ७ हप्ता हुँदै बढ्दै गएपछि गर्भनली फुट्छ। गर्भनली फुटेपछि हुने रक्तश्रावका कारण बिरामी अचेत अवस्थामा पुग्ने र समयमै अस्पताल नपुगे मृत्यु समेत हुने उनले बताइन्।

उनीहरु प्रतिनिधि पात्र मात्र हुन्। असुरक्षित यौन सम्पर्कपछि जथाभावी पिल्स खाने र त्यसपछि पेट दुख्ने, रक्तश्राव हुने समस्या लिएर अस्पताल पुग्ने किशोरीहरको भीड दैनिक बढ्दो छ।

जथाभावी प्रयोगले निम्त्याउन सक्छ बाँझोपनको समस्या
सामान्यतया पिल्स विशेषगरी दुई किसिमको हुन्छ। एक, आकस्मिक गर्भनिरोधक पिल्स र दोस्रो, सामान्य ओरल गर्भनिरोधक पिल्स। यी दुवै पिल्सको प्रयोगको उद्देश्य एउटै छ, अनिच्छित गर्भ हुनबाट रोक्नु। किशोरीहरुले चिकित्सकको सल्लाह र परामर्श बिना जथाभावी पिल्सको प्रयोग गर्ने क्रम बढेको डा रंगीना बताउँछिन्।

भन्छिन्, ‘अविवाहित युवतीहरु रगत बग्ने, पेट दुख्ने समस्या लिएर धेरै आउँछन्। जाँचबुझ गर्ने क्रममा उनीहरुले आफु खुशी पिल्सको प्रयोग गरेको पाउँछु। यो क्रम अहिले धेरै नै बढेको छ।’ आकस्मिक गर्भनिरोधक चक्कीलाई आकस्मिक रुपमा मात्र प्रयोग गर्न उनको सुझाव छ। असुरक्षित यौन सम्पर्कपछि बच्चा बस्न नदिन ७२ घण्टाभित्र खाएपनि यो पूर्ण रुपमा विश्वसनीय नभएको उनी बताउँछिन्।

गर्भ हर समय बस्दैन। डिम्बोत्सर्जन (ओभुलेसन) को समयमा गरिएको यौन सम्पर्कबाट मात्र गर्भ रहन्छ। महिनावारी भएको २० दिन कटिसकेपछि गरिएको यौन सम्पर्कबाट गर्भ रहँदैन। तर ओभुलेसनको समयमा यौन सम्पर्क भयो र बच्चाको योजना छैन भने मात्र आकस्मिक गर्भनिरोधक चक्की पिल्स खान सकिन्छ। त्यो पनि वर्षको एक वा दुई पटक भन्दा धेरै खान नमिल्ने उनी बताउँछिन्।

‘पिल्स हरेक महिना खान मिल्दैन। असुरक्षित यौन सम्पर्क भयो र बच्चाको योजना छैन भन्दैमा हरेक महिना चकलेट जसरी आकस्मिक पिल्स खाने होइन। बच्चाको योजना छैन भने लगातार २१ दिनसम्म खाने अर्को ओरल पिल्स छ। त्यो पनि चिकित्सकको परामर्श अनुसार मात्र खानुपर्छ’ उनले भनिन्।

आकस्मिक गर्भनिरोधक पिल्सले किशोरीहरुमा ओभुलेसन हुने प्रक्रियामा असर गरी हर्मोनल गडबडी गराउँछ। साथै पछि गएर बाँझोपनको समस्या देखिनुका साथै रगत बगीरहने जस्ता ब्लिडिङ डिसअर्डरको समस्या आउन सक्ने उनले बताइन्।

अझै पनि किशोर किशोरीमा ३५ प्रतिशत अपरिपूर्त माग
सन् १९५१ को सुरुवाती समयमा परिवार नियोजनका साधनलाई जनसंख्या नियन्त्रणका रुपमा मात्र बुझिन्थ्यो। तर हाल यो परिवार नियोजन सेवा जनसंख्या नियन्त्रणका लागि मात्र नभई प्रजनन् अधिकार भित्रको सेवा पनि हो।

२०१६ को तथ्यांक अनुसार परिवार नियोजन साधनको प्रयोगदर नेपालमा ५३ प्रतिशत छ। परिवार नियोजन साधनको राम्रोसँग सेवन गरेर कम्तीमा दुई वर्षको गर्भान्तर कायम गरे ३० प्रतिशत महिला मृत्युदर र १० प्रतिशत बाल मृत्युदरमा कमी ल्याउन सकिने परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालमा अझै पनि २४ प्रतिशत अपरिपूर्त माग छ। यो भनेको अझै पनि २४ जना विवाहित महिलाहरु बच्चा जन्माउने चाहना राख्दैनन् र परिवार नियोजनको साधन पनि प्रयोग गर्दैनन्। सुत्केरी महिलामा अपरिपूर्त मागको संख्या ३२ र किशोर किशोरीमा सबैभन्दा धेरै ३५ प्रतिशत छ।

परिवार नियोजन सेवाको दुई वटा विधि मात्र पुरुषले प्रयोग गर्न सक्छन्। एक, कण्डमको प्रयोग र दोस्रो, स्थायी बन्ध्याकरण। तर यी दुवै विधि प्रयोग गर्नेको संख्या कम रहेको महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्याल बताउँछिन्।  स्रोत : स्वास्थ्यखबर

प्रतिकृया

प्रतिकृया