स्थानिय तहको चुनाव आउन अब ३ दिन मात्र बाँकी छ । हामिले स्थानिय तहको चुनावमा विभिन्न पदमा उम्मेदवारी दिएका राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारहरु सँग उहाँका चुनावी एजेण्डा सँगै अन्य केही महत्वपूर्ण विषयमा कुराकानी गर्दै आएका छौँ । यसै क्रममा आजको श्रृङ्खलामा राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उप–प्रमुख पदमा उम्मेदवारी दिनुभएका प्रेम बहादुर शाह सँग तुलसीपुर अनलाईनकर्मी आशिष केसी ले कुराकानी गरेका छन् ।
तपाईको उम्मेद्वारी किन ?
हेर्नुहोस, नेपाली राजनीती पार्टीहरुमा पुस्तान्तरण, रुपान्तरण र नेतृत्व परिवर्तनको वहस विगत लामो समय देखी चल्दै आएको भएता पनि यो सम्भव हुन सकेको थिएन । आज मुलुक आर्थिक, सामाजिक र राजनितिक रुपमा अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहको छ । यि र यस्तै थुप्रै समस्याहरु हाम्रो यस तुलसीपुर उपमहानगरपालिका. भित्र पनि व्याप्त रहेका छन् यि समस्याहरुलाई जरै देखी समाप्त पार्न र यहाँका सम्पुर्ण जनताहरुलाई उचित सेवा सुविधा प्रदान गर्नुका साथै नितिगत सुधारका लागी मैले यसपटकको निर्वाचनमा उम्मेदवारी दिएको हुँ ।
तपाईको सामाजिक र राजनितिक योगदान के छ ?
तपाईले अत्यन्तै महत्वपूर्ण र गम्भिर प्रश्न उठाउँनुभयो, हेर्नुहोस् राजनितिक रुपमा त मेरो ब्यक्तिगत कुनै योगदान छैन तर नेपाली राजनितिमा मेरो परिवारको अत्यन्तै महत्वपूुर्ण योगदान रहेको छ । मेरा बुवा क्षेत्र बहादुर शाह र भाई बालकृष्ण शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रही नेतृत्व गर्दै यस दाङ्ग जिल्ला लाई राष्ट्रिय राजनितिमा परिचित र स्थापित गराउनुभयो जसको कारणले गर्दा नै आज हामी यस ठाउँमा उभिएको छौ । म यसरी प्रत्यक्ष रुपमा राजनितिमा प्रबेश गरेको धैरै समय भएको छैन । राजनितिमा प्रबेश गर्नुभन्दा पहिले म विभिन्न संघ संस्थाहरुमा आबद्ध थिएँ । संघ संस्थाहरुमा रहेर कार्य सम्पादन गर्दा जसरी निष्पक्ष रुपमा काम गरेको थिएँ ठिक त्यस्तै प्रकारले यस तुलसीपुर उ.म.न.पा.मा रहँदा पनि निष्पक्ष रुपले सबै समान व्यवहार गर्दै कार्य सम्पादन गर्नेछु ।
तुलसीपुरको विकास र समृद्धिका लागी एजेन्डाहरु के–के छन् ?
हेर्नुहोस्, म जनतालाई भ्रमित पार्न चाहँदैन, मेरा त्यस्ता कुनै ठुला ठुला एजेन्डाहरु छैनन् । विगतका निर्वाचनहरुमा पनि देख्यौं चुनावका समयमा महत्वाकांक्षि, विश्वास नै गर्न नसकिने एजेन्डाहरु जनताका बिचमा लिएर जाने तर चुनाव जितिसकेपछि त्यसको कार्यान्वायन गर्नु त कहाँ हो कहाँ जनताका साना–साना आवश्यकताहरुलाई समेत पुरा हुन सकेनन् । यसर्थ मेरो भनाई यो हो की यदि मलाई तुलसीुपर उ.म.न.पा. निवासी जनताले विश्वास गरी मलाई त्यस स्थानमा प¥याउनुभयो भने प्रत्यक्ष रुपमा जनतासँग सम्र्पकमा रही उनीहरुकै बिचमा बसी उनीहरुको आवश्यकताहरुलाई बुझि नयाँ योजना र ढंगले कार्य सम्पादन गर्नेछु । शिक्षा र रोजगारीको विषय मेरो पहिलो प्राथमिकतामा रहने छ ।
तपाईले जित्ने आधार के छ ?
हेर्नुहोस्, मैले अगाडी नै भनिसकें मेरो त्यती लामो राजनितिक इतिहास छैन तर पनि पार्टीले विश्वास गरी टिकट दिएको छ । हजुरले जित्ने आधार के भनेर सोधिहाल्नु भयो सबैभन्दा पहिलो कुरा त मेरो क्षमता, लगनशिलता, कार्यशैली र जनताको म प्रतिको विश्वास नै मेरो जित्ने आधार हो । त्यतिमात्र नभएर सिङ्गो राष्ट्र«ीय प्रजातन्त्र पार्टीका विश्वासिला, ईमानदार, जुझारु कार्यकर्ताहरु हुनुहुन्छ । मेरो परिवारलाई चिन्ने मायाँ र विश्वास गर्ने तुलसीपुरका जनताहरु हुनुहुन्छ । मेरा ईष्टमित्र साथी भाई र तुलसीपुर निवासी जनताहरु नै मेरो जित्ने आधार हुन् ।
एकातिर गठबन्धन छ अर्कोतिर प्रमुख प्रतिपक्ष दल एमाले के परास्त गर्न सकिएला त ?
हेर्नुहोस् यो निर्वाचन हो, निर्वाचनमा हारलाई पनि स्विकार गर्नुपर्दछ र जितलाई पनि स्विकार गर्नुपर्दछ । फेरी हाम्रो लडाई, प्रतिस्पर्धा गठबन्धन वा प्रमुख प्रतिपक्ष दल एमाले सँग होईन हाम्रो लडाई र प्रतिस्पर्धा त नितिगत परिवर्तन, भ्रष्टाचारमुक्त स्थानिय तहका लागी हो । एकपटक सरसर्ती नेपाली राजनितिक इतिहासलाई हैरौंन । कुन राजनितिक दललाई हामीले अवसर दिएनाँै र ? सबैलाई त दियौं चाहे गठबन्धनका दलहरु हुन् या प्रमुख प्रतिपक्ष दल एमाले यसर्थ अबको पालो हाम्रो अर्थात राष्ट्रिय प्रजातन्त्र पार्टीको हो । हामी पूर्ण विश्वस्त छाँै की जनताले उचित मुल्याङ्गकन गरेर मात्र आफ्नो मतको प्रयोग गर्नुहुनेछ ।
माहोल कस्तो छ, जनताको आकर्षण छ ?
राम्रो प्रश्न गर्नुभयो बिचमा हामी पनि अलमलमा थियौं तर महाधिवेशन पश्चात राजेन्द्र लिङ्गदेनले पार्टीको नेतृत्व गरीसकेपछि अहिले हाम्रो माहोल अत्यन्त राम्रो छ । अझ खुसीको कुरा के छ भने यूवाहरुको बाक्लो उपस्थिति र विश्वास बढ्दै गएको छ । विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा मानिसहरु राप्रपामा प्रबेश गर्नुभयो अन्य वडाहरुमा पनि अवस्था त्यस्तै छ यसबाट के प्रष्ट हुन्छ भने हाम्रो जित निश्चित छ ।
हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता किन ?
संसारका धेरै राष्ट्र कुुनै न कुुनै धर्ममा जोडिएका छन् । अमेरिका युुरोपका अधिकांश राष्ट्रहरुले क्रिश्चियन धर्म अँगालेका छन् । मध्यपूर्वमा इजरायललाई छोडेर सबै मुुस्लिम राज्यहरु छन् । दक्षिण एसियाका कतिपय देशहरुले बौद्ध धर्म अपनाएका छन् । हिन्दुहरुको एउटै अधिराज्य नेपाललाई पश्चिमा राष्ट्रहरुको दबाब र सल्लाहमा धर्म निरपेक्ष बनाइयो । नेपालसहित एसियाका भारत, बर्मा, इण्डोनेसियामा छरिएर रहेका एक अर्ब भन्दा बढी जनता हिन्दु धर्म मान्नेहरु छन् । संसारमा एउटै मात्र देश नेपाल हिन्दु राष्ट्र थियो । बिना कारण हिन्दु राज्य हटाएर धर्म निरपेक्ष बनाइयो । साथसाथै हिन्दु राष्ट्रका संरक्षक भनिएका राजालाई हटाएर गणतन्त्र बनाइयो । जुनसुकै घरमा पनि एकजना संरक्षकको आवश्यकता पर्छ । संरक्षक बिनाको घर परिवार लाखापाखा लागेर बरालिन सक्छन् । केही मानिसले सोचेका थिए, राजाको ठाउँमा राष्ट्रपति भएपछि देशको सरंक्षकत्व भइहाल्छ नि भन्ने थियो । जनताले सोचेजस्तो भूमिका राष्ट्रपतिले गर्नु सक्नु भएन । राष्ट्रपति सबै जनताको हुन सक्नु भएन । उहाँ कुनै एक पार्टीको भन्दा पनि गुटको मात्र राष्ट्रपति भएको भान उहाँका व्यवहारबाट देखियो ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई मेरो एजेण्डा सहितको विचार राख्ने अवसर दिनुभएकोमा तपाईंलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । देश अत्यन्तै संकटबाट गुज्रिरहेको छ । भोलीको अवस्था कस्तो आउने त्यो कसैलाई थाहा छैन । यी राजनितिक नेतृत्वबाट केही फरक होला जस्तो म देख्दिन । त्यसैले अबको देशको भविष्य राप्रपाको हातमा छ भन्दै तुलसीपुर उ.म.न.पा. निवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई म उपमेयर पदको उम्मेदवार प्रेम शाह लगायत हाम्रो सींगो प्यानललाई हलो चिन्हमा मतदान गरी विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु ।