घोराही,
२७-वैशाख/घोराही उपहानगरपालिकामा गठबन्धनमा आबद्ध रहेका राजनीतिक दलहरुको जनआधार नै गठबन्धनले जित्ने पहिलो आधार हो । यस अघिको निर्वाचनमा गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी र जनमोर्चाले प्राप्त गरेको मत संख्या मात्रै आधार मान्ने हो भने पनि गठबन्धन १२ हजारभन्दा बढी मतान्तरले बिजयी हुने देखिन्छ । त्यस्तै केही समय अघि मात्रै नेकपा (एमाले)मा विभाजन हुनु र घोराहीका धेरै नेता कार्यकर्ताहरु एमालेवाट विभाजित पार्टी नेकपा (एकीकृत समाजवादी) मा लाग्नुले एमालेको मत विगतको भन्दा स्वतः कम हुने देखिन्छ ।

यस बाहेक गठबन्धनले उठाएका एजेण्डा पनि जितको अर्को आधार हो । यसैगरी संघ, प्रदेशमा गठबन्धनको सरकार छ । घोराहीमा पनि गठबन्धनकै सरकार हुँदा गठबन्धनले सहजै माथिवाट बजेट ल्याउन सक्छ र यहाँको विकास हुन्छ । घोराहीको विकास र प्रगति चाहने स्वतन्त्र व्यक्तिहरुको मत अहिले गठबन्धनकै उम्मेदवारलाई पर्ने देखिन्छ । गठबन्धनका उम्मेदवारहरुको अनुहार पनि जितको अर्को आधार हो । मेयरमा अघि सारेका हेमराज शर्मा डायमण्ड (चुनाव चिन्ह हसिया हथौडा) माओवादीका प्रभावशाली केन्द्रीय नेता हुन् ।

घोराहीको चुनावी सभामै सो पार्टीका अध्यक्ष प्रचण्डले हेमराज शर्मा डायमण्ड आफ्नो विशेष विश्वासयोग्य व्यक्ति रहेको सार्वजनिक गर्नु र प्रधानमन्त्री शेरवहादुर देउवाले पनि डायमण्डलाई रुचाउनुले उनको केन्द्रसम्म सहज पहुँच रहेको स्पष्ट हुन्छ । यसैगरी उनको शालिन, सान्त स्वभाव र बौद्धिक व्यक्तित्वलाई नेपाली कांग्रेससँग गठबन्धनको युवा तथा बौद्धिक तप्काले रुचाएको देखिन्छ । उपमेयरका उम्मेदवार भूपबहादुर डाँगी (चुनाव चिन्ह रुख) यसअघि मेयरको उम्मेदवार बनी निकटतम प्रतिद्धन्दी रहेको, नेपाली कांग्रेसका त्यागी, निष्ठावान नेतासमेत रहेकाले उनको जित पनि सुनिश्चित नै छ ।

 गठबन्धनले घोराहीमा राजनीतिकरुपमा मात्र होइन, चुनावी दौडमा पनि जित हासिल गरिसकेको छ, अव मात्र प्राविधिकरुपमा चुनावी प्रक्रिया पूरा गर्नु बाँकी छ ।

प्रतिकृया

प्रतिकृया