शरद रेग्मी, तुलसीपुर
१६-जेठ/ तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टिकाराम खड्का र उपमेयर स्यानी चौधरीले सोमबार बिहान साढे नौं बजेको समयमा आफ्ना कार्यालयका कर्मचारीहरुलाई पुष्पगुच्छा र चकलेटले स्वागत गरेका छन् ।
कर्मचारीतन्त्रको सहयोग र लगनशीलतालाई अझ सरल र व्यवहारिक बनाउने उद्देश्यले पदभार ग्रहण गरेपछिको पहिलो दिनमै बिहानै कार्यालय समय सुरु हुनु पूर्व मेयर खड्का र उपमेयर चौधरीले नगरको प्रवेशद्धारामा पुष्प गुच्छासहित पुगेका थिए । सो अवसरमा सबैभन्दा पहिला पुग्ने कर्मचारीलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर खड्काले पुष्पगुच्छाले स्वागत गरेका थिए ।
‘मेयर र उपमेयर दुबैको एउटै आवाज थियो । प्लिज कर्मचारी साथीहरु समयमै कार्यालयमा आउनुहोला र जनतालाई सहज तरिकाले सेवा प्रवाह गर्नुहोला । काम गर्दा केहि जटिलता देखियो भने हामी तपाईंहरुलाई सहयोग गर्नेछौ ।’
त्यस्तै सो अवसरमा पत्रकारहरुसंग संक्षिप्तमा कुरा गर्दै मेयर खड्काले कर्मचारी संग प्रत्यक्ष भेटघाट र उहाहरुलाई थप जिम्मेवारी बोध गराउन पनि आफुले यस्तो अभियान सुरु गरेको बताए । करिब दुई दर्जन कर्मचारीहरुलाई स्वागत पछि मेयर खड्का तरकारी बजारको अनुगमन गर्न पगेका थिए ।