तुलसीपुर
८-असार/ लुम्बिनी प्रदेशको राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका-५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

           


सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ आएको हो । समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलगायत रहेका छन् ।

उक्त टोलीले घटनाबारे छानविन गर्न बुधबार तुलसीपुरको मेट्रो होटलमा प्रहरी र पीडित परिवारका सदस्यसंग जानकारी लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरज बहादुर स्वारले बताए । समितिले घटनाबारे छानबिनपछि प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठकमा पेश गर्ने समितिका संयोजक सञ्चार मन्त्री शर्माले बताए ।

 

राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमतीसंग हातहालाहालको अवस्था सिर्जना भएको बताइन् ।

एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छन् ।

प्रतिकृया

प्रतिकृया