रोल्पा
१०-असार/ रोल्पामा सम्बन्धविच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालतमा यो वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्धविच्छेदका मुद्दा दायर भएका छन् । यसरी दायर भएका २२७ मुद्दा फर्छ्योट हुँदा ९५ फर्छ्योट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्धविच्छेदका लागि दर्ता गरेका हुन् ।

धेरैजसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्धविच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, बिहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।

गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १५६ वटा फछ्र्यौट भएका छन् । यो अवधिमा ७० मुद्दा फर्छ्योट हुन बाँकी छ । आर्थिक वर्ष २०७६्७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फर्छ्योट भएका थिए ।

सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांश २७ वर्षमुनिका छन् । १४ उमेरका पनि सम्बन्धविच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिए । अंश दाबीबिना सम्बन्धविच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको छ ।

अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताए । सम्बन्धविच्छेदको मुख्य कारण बालविवाह भएको रोल्पा जिल्ला अदालतका स्रेस्तेदार प्रेम खड्काको भनाइ छ ।

सम्बन्धविच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थ सेवन, कुटपिटलगायत छन् । सम्बन्धविच्छेद गरेकाहरूका छोराछोरीको पालनपोषण, शिक्षा र स्वास्थ्य प्रभावित हुने गरेको पाइएको छ ।

प्रतिकृया

प्रतिकृया