रोल्पा
२१-असार/ रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ ।

वि.सं. २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । हाल कारागारमा १० महिला र १०२ पुरुषसहित ११२ जना कैदी बन्दी रहेको जिल्ला कारागार कार्यालय रोल्पाले जानकारी दिएको छ ।

कारागार कार्यालय रोल्पाका अनुसार हाल रोल्पा कारागारमा ७१ पुरुष र ४ महिलासहित ७५ कैदी तथा ३१ पुरुष र ६ महिलासहित ३७ थुनुवा रहेका छन् । कारागारमा हाल कर्तव्य ज्यान र जबरजस्ती करणीका दुई/दुई जना ६५ वर्षमाथिका जेष्ठ नागरिक कैदी छन् ।

कारागारमा सबैभन्दा धेरै जबजरजस्ती करणीका कैदीबन्दी रहेका छन् । जबरजस्ती करणीका २३ कैदी र १० थुनुवा गरी ३३ जना रहेका छन् । पुरानो र जीर्ण कारागारलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मतको काम गरेरेको जेलर विशाल खनालको भनाइ छ ।

कारागारको सुरक्षाका लागि पर्खाल मर्मत तथा काँडेतारको समेत व्यवस्था गरेको उनको भनाइ छ । कारागार बनेको लामो समय भएकाले त्यसले अहिलेको आवश्यकता पूरा गर्न नसके पनि आवश्यक स्रोत साधनको उपयोग गरेर प्रयोग योग्य बनाएको जेलर खनालले बताए ।

प्रतिकृया

प्रतिकृया