तुलसीपुर
२२-असार/ असार महिना सकिनै लाग्दा पनि दाङका किसानहरु धान रोपाइको लागि चाहिने रासायनिक मल अझै पाउँन सकेका छैनन् । वर्षेनी खेतीको समयमा रासायनिक मलको अभाव खेप्दै आएका दाङका किसानहरु यस वर्ष अझ धेरै सास्ती भोग्न बाध्य छन् ।

           


असारको २० गतेसम्म पनि धान रोपाइको लागि चाहिने रासायनिक मल नपाए पनि दाङका कतिपय किसानहरु मल बिना नै धान रोपाइ सुरु गरेका छन् । समयमै मलको आयात हुन नसक्दा किसानहरूले बाध्य भई रोपाई गरिरहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का कालिचरण चौधरी गएको वर्ष असारको २० गते पहिले नै धान रोपाइ सकेका थिए । तर यो वर्ष रासायनिक मलको अभावका कारण उनले धान रोपाइ सुरु गर्न सकेका थिएनन् । तर अहिले भने उनी मल बिना ने धान रोपाई सुरु गरेका छन् । ‘धान रोप्नको लागि चाहिने मल छैन मलकै लागि कहिले तुलसीपुर त कहिले सहकारी धाइ रहेको छु चौधरीले भने-तर मल पाएन अब जसो त होला भनेर मल बिना धान रोपाई सुरु गरे उनले भने’ ।

 

सविता पुनको पनि समस्या उही छ । गत वर्ष उनले पनि असार १५ गते नै रोपाई सकेकी थिईन् । तर अहिले उनले असार २१ लाग्दा समेत रासायनिक मल नपाएर धान रोपाई सुरु गर्न सकेकी छैनन् । धान रोप्नको लागि व्याड तयारी अवस्थामा छ, पानी पनि छ, खेत पनि जोतेर ठिक्क छ तर धान रोप्नको लागि चाहिने मल नपाएर रोपाई सुरु नगरेको पुनले बताईन् ।

रासायनिक मल नपाए पनि अहिले भने पुनले धान रोपाईको तयारी गरेकी छिन् । ‘मल आउँला र धान रोपौला भनेर कुर्दा, कुर्दै असार महिना जान लागि सक्यौ उनले भनिन् । अब मल बिना नै धान रोप्ने हो मल जहिले आउँछ त्यही बेला मल राखौला’ । रासायनिक मल खरिद गर्नको लागि तीनै तहको सरकारले समयमै पहल नगर्ने भएकाले पनि वर्षेनी मलकै कारण किसानहरुले सास्ती भोग्नुका साथै समयमै धान रोप्न नपाएको उनले गुनासो गरिन् ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले किसानहरुका लागि आवश्यक पर्ने मल ल्याउनको लागि उपमहानगरपालिकाले पहल गरिरहेको जानकारी दिईन् । अबको एक/दुई दिनमा आवश्यक मात्रामा मल आईपुग्ने उनले बताईन् । सोमबार मात्रै तुलसीपुरमा २९ सय बोरा युरिया मल आएको तुलसीपुर उपमहानगरपालिका कृषी शाखा प्रमुख धनराज गौतमले जानकारी दिए ।

उक्त मल तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सहकारी मध्य ३७ वटा सहकारीबाट एउटा सहकारीलाई ७७ बोराका दरले युरिया मल वितरण गरेको प्रमुख गौतमले जानकारी दिए । तर आवश्यकता अनुसार अरु मल आउन एक÷दुई दिन लाग्ने उनले बताए । सोमबार आएको मल साल्टट्रेडिङबाट सहकारीहरुलाई उपलब्ध गराएको उनको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया