महेश केसी, रुकुम पश्चिम
५-साउन/ देशभर बर्सेनी खाद्यान्न आयात बढ्दै छ । नेपालमै उत्पादित परम्परागत र मौलिक खाद्यान्नको सट्टा आयातित खाना खाने बानीले आयात बढेको हो । यसले मुलुकको व्यापार घाटा डरलाग्दो गरी बढ्दै छ । त्यति मात्र होइन, कर्णाली क्षेत्रका पहाडी जिल्लामा रैथाने बालीको उत्पादन लोप नै हुने अवस्थामा पुगेका छन् । त्यस्ता मौलिक र रैथाने बाली संरक्षणमा सरकारको पहल पुग्न नसक्दा यहाँका किसानको सक्रियता घट्दो अवस्थामा छ ।

कर्णाली प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशको आधार तयार गर्ने घोषणा गरे पनि त्यसो भने हुन सकेको छैन् । तर, कर्णालीका रैथाने बाली के-के हुन् र तिनको अवस्था के छ ? यसबारेमा भने सरकारी निकाय नै अलमलमा छन् । सरकारले घोषणा गरेपछि जे जस्ता काम गर्नुपर्ने थियो, त्यो हुन सकेन् । त्यस कारण कर्णाली प्रदेशमा अहिलेसम्म रैथाने बालीको वर्गीकरणसम्म गरिएको छैन् । त्यही कारण कोदो, फापर, चिनु, कागुनो र मकै तथा धानका परम्परागत जात लोप हुने अवस्थामा पुगेको (किसान) रुकुम पश्चिमका नरेन्द्र केसीले बताए । ‘हामीले अहिले प्राय हाब्रेड जातको बाली लगाउने गरेका छौं’-उनले भने ।

त्यस्तै मौसम अनुसार सुख्खा सहन सक्ने, रोग-किराको प्रतिरक्षा गर्नसक्ने, स्वस्थकर र उत्पादन पश्चात लामो समय टिक्ने रैथाने बालिका बिशेषता हुन् । यति धेरै गुण भएका बालीको अहिले भने बिउ नै पाउन मुस्किल छ । विगतमा आफैले लगाएका बाली लोप भएकोमा कृषक हिराकुमारी परियारले चिन्ता व्यक्त गरिन् । आफूले लगाउने अन्नबालीको बिउबिजन पाउनै मुश्किल भैरहेको अवस्थामा खेती गर्नु परेको उनको भनाइ छ ।

त्यस्तै कृषि विकास कार्यालयले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन तथा बालीहरुको क्षेत्र विस्तार गर्ने काम गरेको कृषि विकास कार्यालय रुकुमपश्चिमका निमित्त प्रमुख मिनबहादुर केसीले बताए । तर त्यसको प्रभावकारीता भने हुन सकेको उनले स्वीकार गरे । रैथाने बाली के, कती थिए भन्ने पहिचान गर्ननै अहिले हम्मे परिरहेको उनको भनाइ छ । त्यसो त सरकारी निकायले रैथाने बाली संरक्षणको प्रयास नै नगरेको भने होइन । तर त्यसको प्रभावकारीता भने देखिएको छैन् ।

कर्णाली प्रदेशमा अर्गानिक कृषि उत्पादनका लागि रैथाने बालीको विकल्प छैन् । यस्ता रैथाने जातको पहिचान गरेर आवश्यक प्राविधिक परिक्षण पश्चात वैज्ञानिक तवरले रैथाने बाली संरक्षण र क्षेत्र विस्तार गर्न ढिलाई गरेमा प्रदेशका रैथानी बाली लोप नहोला भन्न सकिदैन् ।

प्रतिकृया

प्रतिकृया