दाङ,
२०-साउन/ आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । शुक्रबार बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै चुनाव लड्ने समझदारी भएको एक नेताले बताए । त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ ।

त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन । नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् ।

यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।

प्रतिकृया

प्रतिकृया