लमही,
२९-साउन/ दाङको लमही स्थित रातोडाँडामा सभागृह बन्ने भएको छ । सभागृह निर्माणका लागि लमही नगर विकास समितिले एक विगाहा जग्गा सभागृहको लागि छुट्याएको थियो । तर बजेट अभावका कारण जग्गा छुट्टिए पनि सभागृह निर्माणको काम अघि बढेको थिएन । सभागृह निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेटबाट छुट्याए पछि भने सभागृह बन्ने भएको हो । प्रदेश तथा केन्द्रस्तरका ठूला सभा सम्मेलन सञ्चालन गर्न लमहीमा सभाहलको अभाव छ ।

           


त्यो अभाव हटाउन प्रदेश र केन्द्रस्तरका ठूला सभाहरु सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुविधासम्पन्न सभागृह निर्माण गर्न थालिएको हो । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहको शिलान्यास गरेका छन् । लमही नगर विकास समितिको एक विगाहा जग्गामा सभागृह निर्माण हुने र यो सभागृहले समग्र दाङको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहले देउखुरीको आर्थिक विकासमा योगदान गर्ने बताए । शहरी विकास मन्त्रालयको १८ करोड बजेटबाट लमहीमा सभागृह निर्माण शुरु हुने र तीन वर्षभित्र सम्पन्न हुने मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले बताए । शहरी पूर्वाधारअन्तर्गत सभागृहको परिकल्पना गरिएको हो ।

नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमहीको आर्थिक विकासमा सभाहलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगर विकास समितिले करिब ५३ करोडको लागतमा सभागृह निर्माण हुने डिपियार तयार पारेको छ । करिब एक हजार मानिस अट्ने क्षमताको सभाहल बन्ने र त्यसभित्र डिजिटल सुविधाको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । सभागृह शिलन्यास कार्यक्रममा मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंह, महानिर्देशक सुरेन्द्रमान श्रेष्ठ, लमही नगर पालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीलगायतको सहभागिता थियो ।

 

प्रतिकृया

प्रतिकृया