काठमाडौ
२९ साउन/ राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी छन् । संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पेस गरिएको थियो । संसदले पास गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने कानुनी व्यवस्था छ ।
सोही अनुरूप राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि विधेयक पेस गरिएको थियो । तर, राष्ट्रपतिले भने उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै फिर्ता गराएकी हुन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी विधेयक फिर्ता गरिएको जानकारी दिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए । त्यसको १४ दिनमा राष्ट्रपतिले फिर्ता पठाएकी हुन् ।