तुलसीपुर,
१६-भदौ / दाङको तुलसीपुर उपमहानगरपालिका ५ मा बस्दै आएका सुमन रोका अहिले तुलसीपुर ६ मा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा कक्षा ९ मा पढ्दै छन् । उनी यसै शैक्षिक सत्रदेखि विद्यालयमा सल्यानबाट आएर भर्ना भएका हुन् । उनलाई सानैदेखि मादल बजाउन सिक्ने रहर थियो । उनले घरमा मादल किनेर जानी नजानी भएपनि बजाउँदै आएका थिए । तर, विद्यालयमा उनले संगीतको कक्षा लिन लागेको ४ हप्ता बढी भयो । अहिले सुमनको रहर पुरा हुन लागेको छ । संगीत क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई विद्यालयले साँझ विद्यालय छुट्टि पछि दैनिक २ घन्टा सिकाउँदै आएको छ । जसले गर्दा रोकाले आफ्नो मनको रहर पुरा हुने लागेको भन्दै खुशी व्यक्त गरे ।

           


‘मेरो सानैदेखि मादल बजाउने रहर थियो उनले भने–घरमा एउटा मादल किनेर जानी नजानी बजाउन सिक्दै थिए, अहिले विद्यालयमा गुरुबाट नै सिक्ने पाउँदा धेरै खुशी लागेको छ, हाम्रो सल्यान तिरको विद्यालयमा यो सुविधा थिएन यस विद्यालयमा पढाइ पनि राम्रो रहेछ । आफूले मनले चाहेको पनि सिक्न पाउँदा धेरै खुशी लागेको छ’ । उनको पहिलो लक्ष्य राम्रोसँग पढ्ने भएपनि कुनै पनि कारणले पढाइ राम्रो नभएमा आफू संगीत क्षेत्रमा लाग्ने योजना रहेको पनि सुनाए । जब विद्यालयमा ४ बज्छ, अनि सबै विद्यार्थीहरू झोला बोकेर घरतिर दौडिन्छन्, । तर सुमनसँगै संगीत कक्षा सिक्ने विद्यार्थीहरू भने हातमा मादल, बाँसुरी, तबला, गितार, हार्मोनियम लगायत बाध्य बाधन लिएर सिक्नको लागि कक्षा कोठा पस्छन् । उनीहरु त्यही बाध्य बाधक लिएर बजाउँछन् । अनि सङ्गीतको धुनमा रमाउँछन् ।

यस्तै दंगीशरण ३ बाट यसै विद्यालयमा पढ्न आएकी सानु चौधरीले करिब ४ हप्तादेखि गितार बजाउन सिक्दैछन् । तर, उनले पहिला गितार भनेको के हो? थाहा थिएन । अहिले विद्यालयमा सिक्न पाउँदा खुशी लागेको उनी बताउँछिन् । उनले विद्यालयमा राम्रोसँग संगीत सिक्दै आएको बताइन् । उनले विद्यालयमा पढाइसँगै सङ्गीतको कक्षा लिन पाउँदा धेरै खुशी भएको बताइन् । यस्तै कक्षा १० मा पढ्ने अर्की विद्यार्थी सोनु चौधरीलाई पनि गितार सिक्ने रहर सानैदेखि रहेको थियो । विद्यालयमा अहिले यसरी सिक्न पाउँदा उनी पनि धेरै खुशी छिन् । उनले आफूलाई गीत भन्दा पनि गितार सिक्ने रहर सानैदेखि भएपनि अहिले विद्यालयमा सिक्न पाउँदा पुरा हुन लागेको बताइन् । विद्यालयमा पढाइसँगै विद्यार्थीहरूको इच्छा अनुसार मार्सल आर्ट, सङ्गीतको पनि छुट्टै व्यवस्था रहेको हुँदा आफूले सङ्गीतलाई नै रोजेको उनले बताइन् ।

 

प्रदेश सरकारको सहयोगमा संगीत कक्षा
विद्यालयका प्रधानध्यापक भागवत पौडेलले लुम्बिनी प्रदेश सरकारबाट संगीत कक्षाको लागि प्रशिक्षक र सामाग्रीहरू सहयोग आएपछि विद्यार्थीहरूलाई निःशुल्क सिकाउँदै आएको बताए । अवसर नपाएर आफ्नो क्षमता, प्रतिभा त्यसै निष्कृय भएर रहने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्यालयमा संगीत कक्षा पनि सञ्चालन गरेको पनि उनले बताए । उनले विद्यालयले २०७३ सालदेखि संगीत सिकाउँदै आएको भएता पनि यो वर्षदेखि प्रदेश सरकारबाट सहयोग आएपनि अनौपचारिक रुपमा संगीत क्षेत्रमा इच्छा भएका सबै कक्षाका विद्यार्थीहरूलाई सिकाउँदै आएको पनि बताए । उनले भने,‘ हामीले विद्यार्थीहरूलाई गाउँन, बजाउन र नाच्नमा गरि ३ कुरामा प्रशिक्षण दिइदै आएका छौँ, अब आउँदो वर्षदेखि एकेडेमी रुपमा अगाडी बढाउने योजना रहेको छ । तर, हामीलाई कक्षा कोठाको अभाव रहेको छ । अहिले विद्यालयमा ४९ वटा कोठाहरू रहेका छन् । तर, अझै पुगेको अवस्था छैन् । ’

मार्सल आट सिकाइँदै, १० जना विद्यार्थीले ब्ल्याक बेल्ड पाए
विद्यालयका प्रधानध्यापक पौडेलका अनुसार विद्यालयले पढाइलाई मात्र नभइ विद्यार्थीहरूको चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलापहरू दिँदै आएको छ । सङ्गीतमा रुचि भएका विद्यार्थीहरूले संगीत सिक्दै आएका छन्, भने मार्सल आर्टमा रुचि भएका विद्यार्थीले विद्यालय छुट्टी पछि साँझको समयमा मार्सल आर्टको पनि प्रशिक्षण लिने गरेको उनको भनाइ थियो । उनका अनुसार अहिलेसम्म विद्यालयका १० जना विद्यार्थीहरूले ब्ल्याक बेल्ड पाइसकेका छन् । तिनै बेल्ड पाएका विद्यार्थीहरूले नै अन्य विद्यार्थीहरूलाई सिकाउने गरेको पनि उनले बताए ।

सिटिइभिटीले तोकेको शुल्क एक लाख ९० हजार, विद्यालयले साढे एक लाखमा पढाउँदै
विद्यालयमा सञ्चालन भएका इन्जिनियरिङ तर्फको शुल्क सिटिइभिटीले ३ वर्षसम्मको लागि एक लाख ९० हजार तोकेको छ । तर, विद्यालयले एक लाख ५० हजारमा पढाउँदै आएको उनले बताए । उनले भने,‘ सिटिइभिटी विद्यालयहरूले धेरै शुल्क लिन लागे भनेर कन्ट्रोल गर्नको लागि एक लाख ९० हजार तोकिदिएको हो । तोकिएको शुल्क भन्दा तल कसैले पनि पढाउँदैनन् । तर, हामीले साढे एक लाखमा बढाउँदै आएका छौँ ।’ उनका अनुसार गत आर्थिक वर्षमा आईटीमा ७० लाखको आम्दानी भएको र करिब ३० लाख खर्च हुँदा ४० लाख बचत भएको थियो । यस्तै अहिले पनि साढे एक लाखमा पढाउने योजना भइरहेको र अब जिओ मेट्रिक्सको लागि ५० लाखको सामान किन्नु पर्ने अवस्था रहेको र त्यो समान किनेपछि एक लाख २५ हजार देखि एक लाख सम्ममा पढाउने योजना बनाएको पनि उनको भनाइ थियो ।

स्थापनाकालदेखि आईटीमा नेपालकै उत्कृष्ट
मावि सेन्टरले २०७३ सालदेखि प्राविधिक शिक्षा पढाउन शुरु गरेको हो । तर, विद्यालयले यो विषय पढाउन शुरु गरेदेखि अहिलेसम्म नेपाल नै उत्कृष्ट नतिजा ल्याउँदै आएको प्रअ पौडेलले बताए । उनले भने,‘ प्राय सबै विद्यार्थीहरूले प्रथम श्रेणीमा पास हुँदै आएका छन् । यस्ता कारणले गर्दा र तुलसीपुर बजारको केन्द्रबिन्दुमा भएकाले र सेवासुविधा पनि राम्रो भएकाले विद्यार्थीहरूको आकर्षण यो विद्यालयमा बढेको पाइन्छ ।

अभिभावकले आफ्ना विद्यार्थीको गतिविधि मोबाइलबाट हेर्न मिल्ने
पश्चिम दाङ मै मावि सेन्टरले २०७३ सालदेखि नै नयाँ प्रविधि जडान गरेर सम्पूर्ण अभिभावहरूले आफ्ना छोराछोरीको गतिविधि मोबाइलबाट हेर्न मिल्ने गराएको छ । कुनै पनि अभिभावकले आफ्ना छोराछोरीहरूले विद्यालयमा के गरेका छन् । विद्यालय आएका छन की, छैन्, भनेर घरमै बसेर हेर्ने मिल्ने प्रविधि ल्याएको विद्यालयका प्रअ पौडेललेको भनाइ छ । यसले गर्दा आफ्ना छोरा छोरीमा गतिविधि मात्र नभइ विद्यालय समयमा शिक्षकहरू आएको नआए र कक्षाकोठामा कति समयसम्म पढाएको नपढाएको कुराहरू पनि सजिलै हेर्न मिल्ने पनि उनको भनाइ छ । यसले गर्दा विद्यार्थीहरू र शिक्षकलाई अनुशासित बनाएको पनि उनले बताए ।

प्रतिकृया

प्रतिकृया