रुकुम पश्चिम
२४-भदौ/ राष्ट्रिय खेलुकद प्रतियोगिताको मिति नजिकिदै गर्दा विभिन्न जिल्लाहरुमा यतिबेला खेलाडी छनौट चलिरहेको छ । रुकुम पश्चिममा भने खेल मैदान अभावमा फुटबल र क्रिकेट लगाएतका खेलको छनौट प्रतियोगिता गर्न नै समस्या भएको छ । खेल मैदान निर्माणका लागी ठुलो रकम खर्च भएको भएपनि मैदान अभावको समस्या भने जहाँको त्यही छ ।

           


आगामी असोज २८ देखी आयोजना हुन लागेको राष्ट्रिय खेलुकद प्रतियोगिताका लागी रुकुम पश्चिममा खेलाडी छनौट प्रतियोगिता अन्तरगत फुटबल र क्रिकेटको छनौट भैरहेको छ । जिल्ला सदरमुकाम खलंगाको बराहटाकुरा खेल मैदान जहाँ फुटबल र क्रिकेटका लागी निर्धारित क्षेत्रफल भने पुग्दैन । तर पनि यसको विकल्प नभएका कारण यही सानो मैदानमा छनौट प्रतियोगिता आयोजना गरियो ।

यो जिल्लाको पछिल्लो एउटा उदाहरण मात्रै हो । रुकुम पश्चिम जिल्लाभर कतैपनि फुटबल र क्रिकेट जस्ता ठुला खेलका लागी अभ्यास र प्रतियोगिता गर्ने ठाउँ नै छैन् । कहिलेकाही यस्तै सानो ठाउँमा र जिल्ला बाहिरका मैदानमा खेलेर भएपनि राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा भाग लिने खेलाडीहरुको सपना छ ।

 

रुकुम पश्चिमका फुटबल खेलाडी राजेन्द्र खड्का जिल्लामा खेल मैदानको अभावमा पनि आफ्नो सपनालाई साकार पार्न दिनरात मेहन्त गरिरहेको बताए । खेल मैदान अभावसंगै कुनै प्रतियोगिता बिनानै छनोट प्रक्रियामा भाग लिएको उनको भनाइ छ । ‘यहाँ न कुनै खेल प्रतियोगिता हुन्छ । न त सुविधा सम्पन्न खेल मैदान छ । यसका बावजुद पनि यहाँ खेल क्षेत्रमा सपना देख्ने सयौं खेलाडी छौं’- उनले भने ।

त्यस्तै अर्का क्रिकेट खेलाडी प्रेमप्रकाश खड्काले आफूमा जोस जांगर भएता पनि खेल खेल्ने खेल मैदान नभएको उनको गुनासो छ । प्रयाप्त खेल सामाग्री, खेल मैदानको अभावका कारण आफूमा भएका क्षमतालाई प्रर्दशन गर्न समेत नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

त्यस्तै खेल मैदान निर्माण गर्ने भनेर सदरमुकाम नजिकै पानीढुंगामा १० बर्षअघि ६५ लाखको लगानी गरिएको उक्त स्थल अहिले पनि अलपत्र अवस्थामा छ भने, सदरमुकाम कै धैरेनीचौरमा पनि दुई बर्षअघि ७० लाख लगानीमा रंगशाला निर्माणका लागी थालिएको निर्माण कार्यले पुर्णता पाउन सकेको छैन ।

माग र आवश्यकतालाई ध्यान दिएर भन्दा पनि बजेट खर्च गर्नकै लागी जथाभावी यसरी लगानी गरिदाँ अलपत्र परेका यि मैदानहरुलाई अपुरै छोडेर अहिले चौरजहारी नगरपालिकामा बृहत रंगशाला निर्माण गर्ने प्रक्रिया अगाडी बढेको छ ।

त्यस्तै हरेक पालिकामा ‘खेल ग्राम’ शिर्षकमा खेल मैदान निर्माण गर्ने सरकारी योजना छ । खेल मैदान निर्माणका लागी अहिलेसम्म करोडौं लगानी भैसकेको भएपनि खेलाडी भने मापदण्ड नै नपुगेको मैदानमा अभ्यास गर्न र प्रतियोगितामा भाग लिन बाध्य छन् ।

त्यस्तै जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका अध्यक्ष शैलेश शर्माले खेलको निति बनाउने तहमा खेल नबुझेकाको प्रतिनिधित्व भएकाले यस्तो अभावको सिृजना भएको बताए । निति नियम बनाउने तहमा खेल जगतलाई बुझेका व्यक्तिको प्रतिनिधित्व भएको भएका आज यहाँका हामी खेलाडीहरुले यस्ता खालको अभाव झेल्नु पर्ने बाध्यता नहुनेको उनको भनाइ छ ।

आसन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएर जिल्ला र प्रदेशको परिचय स्थापित गर्दै खेलकुद विकासमा टेवा पुर्‍याउने सपना देखेका रुकुमका खेलाडीहरुलाई खेल खेल्न उत्प्रेरणा प्रदान गर्ने र प्रयाप्त अभ्यासका लागी प्रतियोगिता पूर्व नै सरकारी ध्यान जानुपर्ने भएपनि त्यसो हुन सकेको छैन् । मापदण्ड विपरितको मैदानमा रहरले मात्रै खेलिरहेका खेलाडीबाट उत्कृष्ट नतिजाको कसरी आश गर्न सकिन्छ ? 

प्रतिकृया

प्रतिकृया