काठमाडौं
३-कार्तिक/ निर्वाचन आयोगले ४० जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ बुधबारसम्म ४० जिल्लाको १ करोड ५४ लाख ३४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न गरेको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।

आयोगले हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको छ । यस्तै लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकीको पर्वतबाहेक अन्य सबै जिल्लाको मतपत्र छापिसकिएको सहप्रवक्ता भुसालको भनाइ छ। यी दुई जिल्लाको मतपत्र आजदेखि छाप्न सुरु गरिएको पनि उनले बताए ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ। यस्तै, आयोगले आजदेखि समानुपातिक तर्फको दोस्रो चरणको मतपत्र ढुवानी थालेको छ । पहिलो चरणअन्तर्गत प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।

प्रतिकृया

प्रतिकृया