काठमाडौं
५-कार्तिक/ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणको रङ्ग रातो मसीको रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ । यस अघि पालिका चुनावमा मतपत्रको पृष्ठभूमि हरियो बनाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुखसँग रङ मिलेको भन्दै विरोध गरेका थिए ।

निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ । तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ । मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुने आयोगले जनाएको छ । अहिलेसम्म प्रत्यक्षतर्फ एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिम लगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रतिकृया

प्रतिकृया