दाङ,
१३-कात्तिक/ निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ ।

यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । यी बाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाइसकिएको छ । यद्यपि ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ ।

आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम पनि सकेको छ । प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ । आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फका मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया