बिबस रसाइली, साउदी अरब
१८-कार्तिक/ साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिएको छ । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमै जमिनमा गाडिएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताएका छन् ।

दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं । तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो । जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो ।’

विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेको आरोप लागेको थियो । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो । न्यायिक प्रक्रिया समाप्त भएकाले नेपालले दाहालको जीवनरक्षाका लागि सबै तह र तप्कामा क्षमादानका लागि अनुरोध गरिएको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताइन् ।

‘परराष्ट्र मन्त्रालयले दाहालको जीवनरक्षाका लागि कुनै किसिमको पहलकदमी बाँकी राखेको थिएन । राष्ट्रपतिबाट साउदीका राजासमक्ष पनि क्षमादान दिन पत्र पठाइएको हो । हरेक भ्रमणमा महत्त्वको साथ उठाइएको हो,’ उनले भनिन्, ‘यो घटनाले हामीलाई निकै गम्भीर बनाएको छ ।’

प्रतिकृया

प्रतिकृया