तुलसीपुर
२४-कार्तिक/ दाङ क्षेत्र नम्बर ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले चखौरा संग्रहालयमा भएको भ्रष्टाचारको छानविन गर्ने बताएका छन् । राज्यको सम्पत्ति दोहन गरेर व्यक्तिगत फाइदाका लागि लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले चखौरामा संग्रहालय बनाएको भन्दै त्यसको छानविन गरेर दोषीलाई कारबाही गर्ने उनले बताए ।

थारु जातिको इतिहासलाई नामेट पारेर शक्तिको आडमा व्यक्तिगत तवरले डिल्ली चौधरीले चखौरामा संग्रहालय सञ्चालन गरेको भन्दै पाण्डेले संग्रहालयलाई छानविनको दायरामा ल्याउने कुरामा जोड दिएका छन् । “तुलसीुरको सुकौरामा रहेको सुकौराकोट दरबारको इतिहासलाई अपमान गरेर व्यक्तिगत फाइदाका लागि डिल्ली चौधरीले चखौरामा संग्रहालय बनाएका छन् , यसले थारुजातिको इतिहासलाई अपहेलना गरेको छ ।” पाण्डेले भने ।

दंगिशरण राजा दाङको गौरव भएको बताउँदै पाण्डेले दरबार भएकै ठाउँमा संग्रहालय बनाउन आफुले पहल गर्ने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा भएको कोण सभामा बोल्दै पाण्डेले संग्रहालयको खर्च र आम्दानी सार्वजनिक गर्नका लागि चुनौती समेत दिएका छन्।

“थारु जातिको नाम भजाएर जिन्दगी बनाउनेहरुको एक एक हिसाब हुन्छ, संस्कृतिका लागि राज्य दोहन गर्ने छुट कसैलाई पनि छैन ।” उनले भने । बेस कार्यालय भएको ठाउँमा संग्रहालय बनाउनुको औचित्य पुष्टि गर्नका लागि चौधरीलाई उनले चुनौति दिए ।

प्रदेश मन्त्रीका रुपमा चौधरीले शक्तिको दुरुपयोग गरेर दाङ जिल्लामा थारु समुदायका लागि आएको बजेट चखौरामा मात्रै प्रयोग गरेका छन्, यसको एक एक हिसाब जनताले निर्वाचनमा दिनुपर्दछ” पाण्डेले भने ।

प्रतिकृया

प्रतिकृया