बुटवल
१८ मंसिर/ लुम्बिनी प्रदेशको अस्थायी मुकाम (राजधानी) बुटवलबाट अन्यत्र सार्ने निर्णय रोक्न नेपाली काँग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाएको हो।
काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो ।
पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन काँग्रेसले आग्रह गरेको छ । ज्ञापनपत्रमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ ।
कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रतिकूल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणले आग्रह गरेका छ्न।