रुकुम पूर्व
२०-पुस/ रुकुम पूर्वका बिभिन्न गाउँमा हातहातै सिप भएका महिलाहरु घरघरै भेटिन्छन् । भेडाको ऊनबाट घरबुना कपडा बनाईरहेका उनिको यो सिपको संरक्षण र पुस्तारन्तरण भने हुन सकिरहेको छैन ।

आफ्नै घरको आगनमा बख्खु बनाउन व्यस्त छिन् भुमे-६ महत गाउँकी ६१ बर्षिया रामु बुढामगर । भेडाको ऊनबाट बन्ने कोट अर्थात बख्खु । उनले यसरी काम गर्न थालेको करिब ५० बर्ष भयो रे । सानैमा आमाले गरेको देखेर सिकेको यो सिप नै उनको दैनिकी चलाउने आधार बनेको छ ।

‘यसरी बुन्न नजानेपछि पछि ठूलो भएपछि श्रीमान् नै नपाउने, खानै नपाउने पहिले पहिले हाम्रा बुढापाखाले भन्ने गर्थे, उनले भनिन् ।’

यसरी हातैमा सिप संगालेकी उनि मात्रै एक्लिन होईनिन् । महत गाउँका प्रायः घरमा रहेका महिलाहरु भेडाको ऊनबाट बिभिन्न कपडा बनाउन सिपालु छन् । यिनै सिपालु महिलाहरु हिउँदको पारिलो घाम ताप्दै आगँनमा बसेर काम गरिरहेका भेटिन्छन् ।

हिमाली भेगमा पालिने भेडा र त्यसैको ऊनबाट कपडा-लत्ता बनाउने पुरानो चलन हो । कुनैबेला पुरुषहरु भेडा चराउन खर्कतिर उक्लिने र महिलाहरु घरमा बसेर ऊनबाट कपडा बनाउदै गुजारा चलाउने गरिन्थ्यो ।

पहिले भेडाको ऊनलाई प्रशोधन नगरिकन सबै काम घरमै गरिन्थ्यो । पछिल्लो समयमा यसको आवश्यक प्रशोधन समेत गरिने भएकाले कपडामा सुन्दरता थपिएको छ भने, काम गर्न पनि सहज भएको छ । तर यसप्रकारका घरबुना कपडालाई बजारिया कपडाले विस्थापित गर्दै छ । जसका कारण यसको बजार साँघुरिएको छ । संससंगै घरकै उत्पादनबाट कपडा बनाउने यो सिपको पुस्तान्तरण पनि निकै कम भैरहेको छ ।

‘पुरानो संस्कृतिलाई लोप हुन नदिनका लागि हामीले त्यसलाई निरन्तरता दिइरहेको कविता बुढामगरले भनिन्न् ।’

भेडाको ऊनबाट कोट, जुहारी कोट, ज्याकेट, पटुकी, टोपी र राडी-पाखी आदी बनाउने गरिन्छ । यो सिपको संरक्षण, प्रर्वद्धन र पुस्तारन्तरणमा सहयोग पु¥याउन भुमे गाउँपालिकाले बिभिन्न तालिमहरु आयोजना गर्ने बताएको छ ।

त्यस्तै भुमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगरले यसको संरक्षण गरेर भाविपुस्तालाई हस्तान्तरण, परम्परागत सिपलाई जिवन्त राख्नका लागि स्थानीय सरकारले पनि विभिन्न वडाहरुमा तालिमको व्यवस्था मिलाएको बताइन् ।

यसरी हातहातै सिप र घरघरै सिपालु भएको रुकुम पूर्वको महत मात्रै होईन । यहाँका अरु गाउँघरमा पनि यस प्रकारको सिप भएकाहरु धेरै भेट्न सकिन्छ ।

सिप नै रोजगारको प्रमुख आधार हो । यसकारण समयानुकुल प्रविधीसंग जोडेर यसलाई थप सहज, व्यवस्थित र विस्तारित गर्दै नयाँ पुस्तालाई पनि यसमा जोड्न सके रुकुम पूर्वको पहिचान र गाउँघरमै रोजगारीको सिर्जना हुने थियो ।

प्रतिकृया

प्रतिकृया