तुलसीपुर
२७-पुस/ थारु जातीको महानपर्व ‘माघ’ नजिकिएसंगै अहिले थारु बस्तीनै चैनार (रमाइलो) भएको छ । अहिले गाँउबस्तीमा मघौटा सामा (सामान) जुटाउने चटारो छ । माघीको विशेष परिकारका लागि ढिंक्री बनाउनका लागि चामलको पिठो, अन्दीको पिठो पिसाउने, दाउरा-पात टिप्न वन जाने, घर लिप्ने, दुना टपरी गाँस्ने, माछाको जोहो गर्र्ने लगायतका घरकै कामकाज गर्न भ्याई नभ्याई छ ।
त्यस्तै प्रायः गाउँघरमा अहिले बेलुका धुमरु गीत गाउने, आगो ताप्ने, माघीका लागि मासुको जोहो गर्ने, बर्घर, महटाँवा चुन्ने लगायतका सरसल्लाह गर्ने गरेका छन् ।
सधैँ खेतीपाती र ज्याला मजदुरीकै कारण चाडपर्वबाहेक अन्य समयमा थारु समुदाय दिनभर सुनसान जसो नै देखिन्छ । गाउँघरमा बालबालिका र वृद्धवृद्धाबाहेक अरु भेटिदैनन् । तर माघी पर्व भित्रिएसँगै गाउँघर अहिले चैनार भएको छ ।
माघीको लागि थारू समुुदायले हप्तादिन अघिदेखि नै तयारी शुरु गर्छन् । माघ १ गतेका दिन नजिकको जलाशय नदी, पोखरी, तलाऊ लगायतका स्थानमा गएर नुहाउने र महटाँवाको हातबाट चामलको सेतो टिका ग्रहण गरेर दिदीबहिनीहरुका लागि निश्राऊ (चामल, नुन, मास) छुट्याउछन् । यसरी छुट्याएको निश्राऊ दिदीबहिनीहरुलाई आफ्नो दक्षताअनुुसार दानदक्षिणा दिने चलन छ ।
थारू समुदायले माघीलाई पर्वको रुपमा मात्रै होइन, माघ १ गते नयाँ वर्षका रुपमा पनि मनाउने गर्दछन् । वर्षदिन मरी मरी काम गर्ने र माघीमा गाउँले आफन्त सबैले मिलेर बसेर खानपिन खानुका साथै मघौटा नाँच नाचेर रमाइलो गर्छन् ।
छोराछोरीको बिहे, दाजुुभाई छुुट्टिने, नयाँ घर बनाउने, जिम्दारको खेतवारी अधिया लाउने कामदेखि गाउँको अगुुवा महटाँवा, बरघर चुन्ने काम पनि थारू समुदायले माघीकै अवसरमा गर्छन् । तर २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएपछि थारूहरुले माघीलाई मुक्तिको रुपमा पनि मनाउने चलन छ ।
अरुको घरमा कमैया, कमलहरी नबसे, अरुको खेतीपातीमा काम नगरे खानै समस्या हुुन्थ्यो । बाबुु कमैया भए, छोरा त्यही घरको कमैया बस्ने चलन थियो । आमा कमलहरी बसे छोरी कमलहरी बस्नुपर्ने हुुन्थ्यो । वर्ष दिनसम्म घर परिवार आफन्तसंग भेट्न नपाइने हुन्थ्यो । तर अहिले भने केही हदसम्म कम भएता पनि कमैया प्रथा भने पूर्ण रुपमा हट्न सकेको छैन् ।
थारू समुदायको आफ्नै मौलिक भेषभुषा, भाषा, कला संस्कृति छ । तर पछिल्लो समय यो मौलिकपनमा ह्रास हुदै गएको छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती छ । पुुस्तान्तरण अभावका कारण थारू पहिचानसमेत हराउँदै गइरहेको थारू अगुवाहरु बताउँछन् । पछिल्लो समय युवाहरुले मौलिक पहिचान जोगाउन सकेका छैनन् ।
त्यस्तै पछिल्लो समय थारु समुदायले माघीको अवसरमा माघी महोत्सव, माघी मिलन कार्यक्रमको आयोजना पनि गर्ने गरेका छन् ।