तुलसीपुर,
१०-माघ/ पूर्व ब्रिटिश आर्मी तथा समाजसेवी मान बहादुर थापा मगर र उनकी श्रीमती कमला थापा मगरले स्वास्थ्य चौकीमा बेबी वार्मर मेशिन सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी हाल बेलायतमा बस्दै आएका समाजसेवी दम्पतिले एक कार्यक्रमको आयोजना गरेर मंगलबार हलवार स्वास्थ्य चौकीमा बेबी वार्मर मेशिन सहयोग गरेका हुन् । बच्चा जन्मिए लगत्तै स्वास्थ्यमा केही समस्या आएमा वा चिसो भएमा बच्चालाई न्यानो बनाउनको लागि बेबी वार्मरमा मेशिनमा राखिन्छ । समाजसेवी थापाले एक लाखमा उक्त मेशिन खरिद गरेर स्वास्थ्य चौकीलाई हस्तारन्तरण गरेका हुन् । विभिन्न किसिमका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका थापा दम्पतीले स्वास्थ्यचौकीमा बेबी वार्मरको अभाव भएकाले आफुहरुले बेबी वार्मर मेसिन सहयोग गरेको बताएका थिए ।

हलवार स्वास्थ्य चौकीमा यो नै पहिलो बेबी वार्मर मेशिन हो । बथ्रिङ सेन्टर सञ्चालनमा रहेको उक्त स्वास्थ्य चौकीमा शिशु मृत्युदर घटाउनका लागि उक्त सामग्री हस्तान्तरण गरिएको थापाले बताए । शिशु जन्मिएपछि २४ डिग्री तापक्रममा राखेर चिसोबाट बचाउन सकिने स्वास्थ्य चौकीका अनमि कमला गिरीले बताइन् । नवजात शिशुमा देखिने निमोनियाको समस्यालाई मेसिनको प्रयोग पछि घटाउन सकिने गिरीले बताइन् । केही दिनअघी मात्रै पूर्व ब्रिटिश आर्मी तथा समाजसेवी थापाले तुलसीपुर उपमहानगरपालिका र घोराही उपमानगरपालिकालाई फोहोर टिप्ने चार/चार थान औजार प्रदान गरेका थिए । सरसफाइ नै पहिलो पहिचान भएकाले आफ्नो गाउँठाउँ प्रतिको माया सफाइ संग जोड्ने प्रयास गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष तुल्सी थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी र समाजसेवी मानबहादुर थापाको विशिष्ट आतिथ्यतामा मेसिन हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथी खड्काले सबैले यस्तो खालका सहयोग गर्न नसक्ने बताउँदै जाडोको समयमा बच्चालाई न्यानो बनाउँनको लागि थापा दम्पतीले वार्मर मेसिन सहयोग गरेको भन्दै प्रशंसासहित धन्यवाद ज्ञापन गरे । उक्त अवसरमा बोल्दै उपप्रमुख स्यानी चौधरीले बेबी वार्मर मेसिन सहयोग गरेकोमा धन्यवाद दिंदै उक्त मेसिनको जतन गरेर सही सदुपयोग गर्न स्वास्थ्य कर्मीहरुलाई आग्रह गरिन ।

प्रतिकृया

प्रतिकृया