कोहलपुर
१६ माघ/ बाबुले छोरा र श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउदा गम्भीर घाइते भएका छोराको मृत्यु भएको छ। आगोबाट गम्भीर घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको कोहलपुर प्रहरिले जानकारी दिएको छ। आइतबार साँझ करिब ६:३० बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए।
आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो। कोहलपुर प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा बालक प्रिन्सको गए राति मृत्यु भएको डाक्टरहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ।
गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र ढाडमा आगोले पोलेको छ।
घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको अनुमान छ। घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।