तुलसीपुर,
१६-माघ/ गएको मंसिरमा तुलसीपुरकी १४ वर्षीया बालिका बलात्कृत भइन् । मंसिर ७ गते राति करिब ११ बजेको समयमा आफन्तकोमा जान भनेर हिँडेकी ति बालिकालाई आफन्तकोमा पुर्याइदिने भन्दै बाइकमा राखेर तुलसीपुर उपमहानगरपालिका १३ का २६ वर्षिय युवकले बसपार्क आफ्नो कोठमा लगेर बलात्कार गरे । मंसिर ७ गते बलात्कार गरेका युवकलाई प्रहरीले मंसिर ८ गते पक्राउ गर्यो ।
तुलसीपुरमै एक जेष्ठ नागरिक माथि खुकुरी प्रहार भयो । तुलसीपुर–३ सिस्नेरी निबासी ७० वर्षीय विजुली घर्तीमाथि छिमेकीबाटै खुकुरी प्रहार भएको थियो । आरोपीलाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरिएको छ । गएको माघ ६ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा रहेको गोरखा बोडिङ स्कुल नजिक पार्किङ गरी राखेको अवस्थामा दिउँसै मोटरसाइकल चोरी भयो । दिउँसो साढे १ बजेको समयमा पार्किङ गरी राखेको रा ६ प ६९४३ नं. को २२० सिसिको मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा चारदिन पछि गएको माघ १० गते बिहान ७ बजेको समयमा दंगीशरण गाउँपालिका वडा नं. ७ सिमडाँडाँमा बेवारिसे अवस्थामा प्रहरीले मोटरसाइकल फेला पार्यो । उक्त मोटरसाइकल प्रहरीले सवारी धनीलाई बुझाएको छ । यी घटना त उदाहरण मात्रै हुन् । तुलसीपुरमा दिनानु दिन यस्ता खालका घटनाहरु घट्ने गरेका छन् । तुलसीपुर दिन प्रतिदन यस्ता खालका अपराधिक घटनाका कारण अशुरक्षित बन्दै गएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ९३ वटा यस्ता खालका मुद्धाहरु दर्ता भएका छन् । गएको साउनदेखि पुस मसान्तसम्म ९३ वटा मुद्धा दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी पर्वत केसीले जानकारी दिए । सूचना अधिकारी केसीकाअनुसार कर्तव्य ज्यान मुद्धामा ३, ज्यान मार्ने उद्योगमा ८, जवरजस्ती करणीमा १८, जवरजस्ती करणी उद्योगमा ३, चोरीको घटनामा २७ र अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक नैतिकता विरुद्धको कसुरमा ३४ गरी ९३ वटा मुद्धा दर्ता भएका हुन् । यी घटनामा संलग्न १३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्य कर्तव्य ज्यान मुद्धामा ७, ज्यान मार्ने उद्योगमा ११, जवरजस्ती करणीमा १२, जवरजस्ती करणी उद्योगमा २, चोरीको घटनामा ५३ र अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक नैतिकता विरुद्धको कसुरमा ५३ जना पक्राउ परेका हुन् ।
तुलसीपुरमा प्रहरी परिचालन बढाएका छौ : डिएसपी
यता जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतममले तुलसीपुर क्षेत्रमा अपराधिक घटनाहरु बढ्न थाले पछि प्रहरी परिचालन बढाएको बताए । घोराहीलगायत अन्य क्षेत्रको तुलनामा तुलसीपुर क्षेत्रमा अपराधिक घटनाहरु बढेकाले समग्र जिल्लाको शान्ति शुरक्षालाई चुस्त बनाउन सबै शुरक्षा निकाएलाई एकिकृत गरेर तुलसीपुरमा बढी मात्रामा शिविल प्रहरी परिचालन बढाएको जानकारी दिए ।