तुलसीपुर,
४-चैत/ तुलसीपुर बजार पश्चिम दाङ लगायत पहाडी जिल्लाको व्यापारिक केन्द्र हो । व्यापारिक केन्द्र भएयता पनि मुख्य बजारमा सडक बत्ती नहुँदा व्यवसायीहरू घाम डुबेसँगै पसल बन्द गर्न बाध्य भएको बताउँछन् । तुलसीपुरमा व्यवसाय गर्दै घनश्याम डाँगीका अनुसार मुख्य बजारमा बत्तीको व्यवस्था नहुँदा आफूहरूलाई समस्या हुने गरेको छ । उनले भने,‘ तुलसीपुरको मुटु मानिने विपी चोक, विरेन्द्र चोक लगायत सबै ठाउँ अन्धकार हुन्छ । व्यवसायीहरूले घाम डुबेसँगै सटर बन्द गर्नु पर्ने अवस्था रहेको छ । अन्धकार हुँदा सुरक्षा चुनौति बढेको छ । बजारमा भएका सोलार बत्तीहरू बल्दैनन् । यदि बलेको भएयता पनि जुनकीरी जस्तो बलेका हुन्छन् ।’ यस्तै उनले बजारका मुख्य चोकहरूमा अन्य शहरमा भएका जस्तै ठूला लाइटहरू राख्न सकेमा सबैलाई सहज हुने पनि बताए । उनले बजारभित्र तत्कालीन नगरपालिका नहुँदा सडक बत्तीका रुपमा शौर्य बत्ती राखेको भएयता पनि त्यो राख्ने पैसाले बजारमा मुख्य ठाउँमा ठूला लाइटहरूको व्यवस्था गर्न सकेको भए अहिले अन्धकार नहुने पनि उल्लेख गरे ।
तुलसीपुरको विपी चोकमा फेन्सी व्यवसाय गर्दै आएका अमरराज लामिछानेले मुख्य बजारमा भएका सौर्य सडक बत्तीहरू मध्य एक प्रतिशतमा बल्ने गरेको भएयता पनि ति बत्तीले पनि केही नदेखिने गरेको बताए । उनले भने,‘ पसलमा बत्तीहरू बलेपछि भित्र उज्यालो हुन्छ, बाहिर अँध्यारो हुन्छ । जसले गर्दा बाहिर हिड्ने मानिसहरूलाई अलि त्रास हुन्छ । रातको समय त्यसमा पनि बत्ती नहुँदा मानिसहरू हिड्न पनि चाहँदैनन् । सडकमा बत्ती नहुँदा ब्यापार व्यवसायीलाई असर हुन्छ ।’ यस्तै उनले उपमहानगरलाई व्यवसायले वार्षिक रुपमा केही सुविधाहरू पाउनको कर तिर्दै आएको भएयता पनि व्यवसायीहरूले केही पनि सेवा सुविधाहरू नपाएको गुनासो गरे । यस्तै उनले सडकमा बत्तीहरू नहुँदा र तुलसीपुर बजारमा भएका सिसी क्यामराहरूले पनि रातमा काम गर्ने हुँदा आफूहरूले असुरक्षित महसुस गरेको पनि उल्लेख गरे । बजारमा कुनै पनि घटनाहरू भएमा भएका सिसी क्यामेराले रातमा काम नगर्दा पत्ता लगाउन समस्या हुने भएकाले दिन र रातमा काम गर्ने क्यामराहरू जडान गर्नु पर्नेमा सुझाव दिए ।
तुलसीपुरको विपी चोकमा फर्निचर व्यवसाय गर्दै आएका विमल गौतमको पनि गुनासो उस्तै रहेको छ । उनकाअनुसार विभिन्न समयमा बजारमा चोरीका घटनाहरू बढ्दै जानु र एकातिर सडकमा बत्तीहरू नहुँदा समस्या भइरहेको छ, भने बजारमा प्राप्त मात्रामा सीसी क्यामेराहरू नहुँदा व्यवसायीहरूले बजार असुरक्षित मान्ने गरेका छन् । उनले पनि सडकमा भएका सडक बस्तीहरू लामो समयदेखि नबल्दा उपमहानगर भित्र यस्तो अवस्था हुनु विडम्बना भएको बताए । उनले पनि उपमहानगरलाई व्यवसायीहरूले वार्षिक रुपमा विभिन्न कुरामा करहरू तिर्दै आएको भएयता पनि उपमहानगरले साना कुराहरूलाई भन्दा पनि ठूला कुराहरूलाई महत्व दिने गरेको पनि बताए । उनकाअनुसार बजारमा रातको समयमा सडक बत्ती नहुँदा रातको समय नागरिकहरूलाई हिड्न समेत समस्या हुन गरेको छ ।
तुलसीपुरका विभिन्न स्थानमा १२५ वटा शौर्य बत्ती जडान गरिएको छ । ३ पटक गरेर शौर्य बत्ती जडान गरिएको हो । पहिलो पटक ३५ वटा बत्ती जडान गरिएको थियो । जसमा ३६ लाख ३६ हजार लगानी लागेको थियो । त्यस्तै दोस्रो पटकमा ८० वटा ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा विभिन्न टोल तथा सडकहरूमा सोलार बत्ती जडान गरिएको उमहानगरका इन्जिनियर पवन कुमार योगीले बताए । यस्तै आर्थिक वर्ष २०७६ ÷ ७७ मा विभिन्न शवदाह गृहमा र पुलको नजिकमा १० वटा सोलार बत्ती जडान भएको थियो । हालसम्म १२५ वटा सोलार बत्तीहरू जडान भएको र सोलार प्यानलको २५ वर्ष, ब्याट्रीको ५ वर्ष ग्यारेन्टी भएको पनि उनले बताए । उनकाअनुसार सोलार बल्बमा ग्यारेन्टी हुँदैन् । यस्तै उपमहानगरले नियमित रुपमा के कारणले सोलारहरू बल्न छाडेका हुने भन्ने विषयमा प्राविधिकहरू बेला बेलामा पठाउने गरेको उनको भनाइ छ । उनले भने,‘ बत्ती सेन्सरमा हो की ? ब्याट्री तथा प्यानलको समस्या हो ? अर्को कुरा वातावरणीय प्रदुषणले गर्दा सोलार प्यानलमा धुलो पर्दा चार्ज नहुँदा केही बत्तीहरू मधुरो बल्छन्, भने केही बल्दैनन् ।’
तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले तत्कालीन तुलसीपुर नगरपालिका भएको समयमा तुलसीपुर बजारमा सोलार बत्तीहरू स्थापना भएको बताए । तत्कालीन नगरपालिकासँग सोलार बत्तीको सम्बन्धमा सम्झौता भएयता पनि आफूहरू जनप्रतिनिधिहरू भएर आएपछि एक पटक ठेकेदारलाई बोलाएर मर्मत गर्न लगाएको पनि उनको भनाइ छ । उनले भने,‘ हामीले बोलाएर मर्मत गर्न लगाएपछि केही समय बत्तीहरू बलेका थिए । तर, पछि फेरि बत्तीहरू बल्न छाडे । अहिले ठेकेदार सम्पर्कमा छैनन् । हामीले वडा कार्यालयबाट कुन कुन टोलहरूमा बत्तीहरू छैन्, त्यहाँ विद्युतीय पोल बत्ती जडान गर्नको लागि आह्वान गरेका छौँ । सक्रिय भएका टोलहरूमा अहिले विद्युतीय पोल बत्तीहरू जडान गर्न काम भइरहेको छ ।’ उनले तुलसीपुर बजारलाई उज्यालो बनाउनको लागि ठूला बत्तीहरू राख्न सकिने भए यता पनि उपमहानगरबाट वडालाई प्राप्त बजेट नआउँदा र बजेट आएपछि समयमा नआउँदा समस्या भइरहेको बताए । तुलसीपुरको मुख्य बजार तुलसीपुर ५ मा पर्दछ ।
सोलार बत्ती उपयुक्त छैन् : प्रमुख प्रशासकीय अधिकृत पौडेल
तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले सोलार बत्तीले लामो सयम सम्म काम गर्न नसक्ने भएकाले बाल्न उपयुक्त छैन् । उनले भने,‘ हामी कहाँ ‘ए’ ग्रेडको सोलारहरू आयत भएको पाइदैन् । मैले ६÷ ७ वटा जिल्लाहरूमा काम गरेको छु । सबै ठाउँमा सोलार बत्तीको तनाव भएको थियो । शुरु शुरुमा अलिअलि बल्ने भएयता पनि विस्तारै बल्न छाड्ने अवस्था हुन्छ । ’ यस्तै सोलारमा कुनै समस्या आएको खण्डमा राम्रो मर्मत गर्ने व्यक्ति पाइदैनन् । तुलसीपुरमा पनि त्यही समस्या रहेको छ । सोलार बत्तीलाई भन्दा पनि विद्युतीय बत्तीलाई प्राथामिकता दिनु पर्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । अन्य शहरमा राखे जस्तै तुलसीपुरमा पनि ठूला सडक बत्तीहरू राख्न सकिने भन्दै क्रमश बजारको विकास र रात्रिकालीन बजार भएमा राख्न सकिने भन्दै अहिले तुलसीपुरमा रात्रिकालीन बजार नभएको पनि उनले बताए ।
तुलसीपुरमा १८ वटा सिसी क्यामेरा, तर रातको समयमा काम गर्दैनन्
तुलसीपुर बजारका विभिन्न स्थानमा १८ क्यामेरा उपमहानगरले जडान गरेको छ । त्यसको कन्ट्रोल इलाका प्रहरी कार्यालय तुलसीपुरमा छ । अहिले सुरक्षाको दृष्टिले तुलसीपुर भयावह स्थिति नभएता पनि तुलसीपुरलाई सुरक्षित बनाउन अब डिजिटल प्रविधिमा जानु पर्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए । उनले भने,‘ तुलसीपुर बजारलाई सुरक्षित बनाउनको लागि सुरक्षित देख्नको लागि नेपाल प्रहरीले आफ्नो तरिकाले काम गरिरहेको छ । अहिले तुलसीपुर बजारमा इप्रका तुलसीपुरले हेर्न गरेका सिसी क्यामेराले रातको समयमा काम गर्दैनन् ।
रातको समयमा कुनै दुर्घटना भएपनि भएका सिसी क्यामेराबाट पहिचान गर्न समस्या हुन्छ । त्यसैले अब डिजिटल प्रविधिमा जानुको विकल्प छैन् ।’ उनकाअनुसार तुलसीपुरलाई सुरक्षित बनाउनको लागि तुलसीपुर बजार भित्रिने ४ वटा नाकाहरूमा र बजारका महत्वपूर्ण ठाउँहरूमा उच्च क्वालिटीको सिसी क्यामराहरू राख्न सकेमा तत्काल कुनै घटनाहरू भएमा पहिचान गर्न प्रहरीलाई सहज हुन्छ । तुलसीपुर बजारमा उच्च क्वालिटीको सिसी क्यामराहरू राख्नको लागि करिब ३५ लाख बराबरको लागत लाग्ने योजना बनाएर उपमहानगरसँग समन्वय गरेको पनि उनले बताए । यस्तै बजारमा सडक बत्तीहरू नहुँदा अँध्यारो भइरहने भएयता पनि आफूहरूले बजारमा रहेका प्रत्येक घर बाहिर बत्ती बाल्न घरधनीहरूलाई आग्रह गरेको भएयता पनि कसैले नसुनेको उनको भनाइ छ ।