शोभा डाँगी, तुलसीपुर
७-चैत/ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ की ममता रेग्मी दुधे बच्चा काखमा च्यापेर दुधबाट बन्ने परिकारहरु बनाउन थालेकी छिन् । केही समय कटाई सिलाईको काम गरेकी उनी आजभोली भने तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा रहेको मेट्रो कलेजमा दुधबाट बन्ने परिकारहरु सिक्न काखमा बच्चा बोकेर आउने गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिकाद्धारा सञ्चालित मेट्रो कलेजमा सिटिइभिटीको आयोजना सञ्चालित छोटो अवधिको डेरी तथा स्विट मेकर तालिममा सहभागी हुँदै आएकी उनले आफु काखमा बच्चा बोकेर आएता पनि प्रशिक्षक संगै तालिममा सहभागी साथीहरुले राम्रो साथ दिएको बताउँछिन् । कलेजले निकालेको विज्ञापन देखेर घर सल्लाहा अनुसार उनी तालिममा सहभागी भएको बताइन् ।

सिप सिकेर डेरी नै खोलेर बस्न नसके पनि आफ्नो घरमा चाहिएको बेला बजारबाट मिठाइहरु किनेर ल्याउनु भन्दा आफैले बनाउँदा पैसाको समेत बचत हुने उनको भनाई छ । तुलसीपुर १२ कै २२ वर्षीया अस्मिता भण्डारी पनि केही समय रोजगारीको शिलशिलामा बिदेश गइन । करिब डेढ वर्ष विदेश बसेर नेपाल फर्किएकी उनी पनि मेट्रो कलेजमै दुधबाट बन्ने परिकारहरु खुवा, पेडा, बर्फी, दही, पुस्तकारी, राबरी बनाउन सिकेकी छिन् । ‘बिदेशमा डेढ वर्ष बसेर काम गरे मेट्रोमा छोटो अवधिको डेरी तथा स्विट मेकर तालिम सञ्चालन हुने जानकारी पाएपछि म पनि आए अहिले दुधबाट बन्ने परिकार बनाउन सिकेकी छु यहाँ सिकेको सीपले आफ्नै गाउँ ठाउँमा डेरी खोलेर बस्न पनि सकिन्छ यहाँबाट दिएको प्रमाणपत्रले अन्य देशमा गएर काम गर्न पनि सहज हुने र आम्दानी पनि राम्रो हुन्छ भन्ने सोचेकी छु उनले भनिन्’ । तालिममा बनाउँदै आएको दही, राबरी, खुवा पुस्तकारीहरु बेचेको पैसा पनि आफुहरुले नै राख्दै आएको भण्डारीले बताइन् ।

हामीले तालिम सिक्दा बनाएको सामानहरु विद्यार्थीहरुले बेचिदिनु भएको छ, त्यो पैसा पनि हामी आफैले राखेका छौ, तालिम पछि कुनै काम गर्दा वा बेकरीका सामान बनाउन सिक्ने बेला यही पैसा प्रयोग गर्ने सोच छ भण्डारीले भनिन् । त्यही ग्रुपमा पार्वता वली पनि भेटिइन् । उनी पनि गृहणी हुन् । अहिले सीप सिकेमा भोलीका दिनहरुमा त्यही सीपलाई सदुपयोग गरेमा जीवन सहज हुने अपेक्षासहित तालिममा सहभागी भएको उनको भनाई छ । आफुहरुलाई प्रशिक्षकले बजारमा पाइने मिसावट मिठाई भन्दा शुद्ध क्वालिटीको गुतपाक, पुस्तकारी, दही, खुवा बनाउन पिसकाउँदै आएको उनले बताईन् । हामीलाई प्रशिक्षकले स्वास्थ्यलाई कुनै हानी नगर्ने शुद्ध परिकार बनाउन सिकाउनु भएकाको छ उनले भनिन् ।

गएको फागुन १४ गतेदेखि तालिम सुरु भएको छोटो अवधिको डेरी तथा स्विट मेकर तालिममा गृहणीहरुको बढी सहभागीता छ । तालिममा २० जनाको सहभागिता रहेको र धेरै जसो गृहणीहरु सहभागी रहेको प्रशिक्षक सुर्दशन गोसाइले जानकारी दिए । आफुहरुले दैनिक १० लिटर दुध निःशुल्क रुपमा उपलब्ध गराएको उनले बताए । सबै जना सिक्नको लागि उत्साहित भएकाले पनि आफुहरुलाई सिकाउन सहज भएको गोसाइले बताए । तालिममा सहभागी भएकाहरुलाई कलेजले निःशुल्क तालिम दिनुका साथै दैनिक रुपमा खाजा वाफतको ५० रुपैयाँ दिंदै आएको छ ।

प्रतिकृया

प्रतिकृया