दाङ ,
२३-चैत/ नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाको लमही सबस्टेसनको परिसरमा आगलागी हुँदा देउखुरी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । बिहीबार दिउँसो एक्कासी आगलागी हुँदा सबस्टेसनबाट प्रवाह हुने विद्युत सेवा दिनभर प्रभावित भएको छ। आगलागी हुँदा गढवा र भालुबाङ क्षेत्रमा वितरण गरिएको विद्युतीय तार जलेको छ ।
जसले गर्दा विद्युत सेवा प्रवाहमा कठिनाइ भएको र मर्मतको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । दिउँसो करिब साढे १ बजे विद्युत प्राधिकरणको परिसर क्षेत्रमा आगो फैलिएको थियो । संकलन गरिएको फोहर नष्ट गर्ने क्रममा लगाएको आगो झाडीमा फैलिएको थियो । जसले गर्दा विद्युत प्राधिकरणको सप्लाइ तार जलेका कारण विद्युत सेवा नै रोकिन पुगेको छ ।
अहिले तार मर्मतको काम चलिरहेको र मर्मतपश्चात मात्र विद्युत सञ्चालन हुने प्राधिकरणले जनाएको छ । आगलागी भएको सूचना पाएलगत्तै वडा प्रहरी कायालय लमही, सशस्त्र प्रहरी बल अर्जुनखोलाको टोली, नेपाली सेना घटनास्थलमा पुगेका थिए । सुरक्षाकर्मी र दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल आगो निभाउन खटिएका थिए ।