दाङ,
३०–वैशाख / राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडिङ (एनजी) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेर ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने नियम लागू गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।
यसअघि दुईभन्दा बढी विषयमा एनजी आए पुनः अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक अवस्था थियो । अब दुई विषयसम्म मात्र एनजी भए तुरुन्तै ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
यो नियम जारी रहेको कक्षा १२ को परीक्षामा समेत लागू गरिएको अर्यालले बताए । उनका अनुसार गत वर्ष एनजी प्राप्त विद्यार्थीले यसपालि सबै विषयको परीक्षाका लागि आवेदन दिए पनि जुन विषयमा एनजी आएको हो सो विषयमा मात्र परीक्षा दिए हुन्छ ।
बोर्डका अनुसार करिब ५६ हजार विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिँदै छन् ।
लेटर ग्रेडिङ निर्देशिका कक्षा १–१२ मा लागू गरिएको छ । संशोधनपछि विशेष गरी एसईई र १२ कक्षाको परीक्षामा एनजीमा पर्ने विद्यार्थी लाभान्वित हुनेछन् । तीन वर्षसम्म ४ वटा परीक्षा दिँदासमेत ग्रेडवृद्धि हुन नसके त्यस्ता विद्यार्थीले चाहिँ नियमित विद्यार्थीसरह सबै विषयको परीक्षा दिनुपर्नेछ ।
निर्देशिकाले प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा पूर्णांकको ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा एनजी उल्लेख हुने व्यवस्था गरेको छ ।