दाङ
१२-जेठ/ तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पासको अभिलेखिकरण नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११औँ कार्यपालिकाको बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास तथा अभिलेखिकरण नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि उपमहानगरले सिफारिस नदिने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए ।

प्रवक्ता वलीका अनुसार उपमहानगरपालिकाले नक्सा पास नगरि निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरे । उपमहानगरपालिका भित्र झण्डै ९० प्रतिशत घर नक्सापास तथा अभिलेखिकरण नगरेर घर निर्माण गरिएको उनले बताए । प्रवक्ता वलीका अनुसार असार मसान्तसम्म करको दायरामा आउने नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

‘असार मसान्तसम्ममा सम्बन्धीत वडा कार्यालयमा गए घर नक्सा पास र अभिलेखिकरण सम्बन्धी निवेदन दिन सक्ने छन् । छोटो समय छ । उपमहानगरले साउनमसान्तभित्र घर नक्सा पासको अभिलेखिकरण गरिसक्नु पर्ने छ, उनले भने ।’

उपमहानगरले पक्की घरको एक हजार, कच्ची घरको पाँच सय, अव्यवस्थित बसोबासीका लागि एक सय, भूमिहीन दलितका लागि ५० र भूमिहीन सुकुम्बासीका लागि ५० रुपैयाँ वार्षिक कर निर्धारण गरेको पनि उनले बताएका छन् ।

‘नगर सेवा शुल्क भनेर अव्यवस्थित बसोबासीका लागि एक सय, भूमिहिन दलितका लागि ५० र भूमिहिन सुकुम्बासीका लागि ५० रुपैँया वार्षिक कर लिने निर्यण गरेका छौँ, प्रवक्ता वलीले भने ।’

त्यस्तै मेरो संयोजकत्वमा समिती गठन गरेर घरको नक्सापास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सल्टेन्सीले सेवा शुल्क फरक/फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने निर्णय गरेको बताए ।

साथै वलीले उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण नगरवासीले घर जग्गाको नक्सा पास तथा अभिलेखिकरण निर्धारित समयमा गराउनका लागि सम्बन्धी वडा कार्यालयमा निवेदन दिएर सेवा लिन पनि आग्रह गरेका छन् ।

प्रतिकृया

प्रतिकृया