हेमराज डाँगी, तुलसीपुर
२५-जेठ/ तरकारीको पकेट क्षेत्र घोषणा भएकै क्षेत्र दाङको तुलसीपुर उपमहानगरपालिका-११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोबीले बजार नपाएपछि बारीमै कुहिने अवस्थामा छन् । त्यहाँका किसानहरुले बर्षौदेखि बेमौसमी तरकारी खेती गर्दै आएका छन् । तर उक्त तरकारीले बजार नपाउँदा किसानहरु निरास भएका छन् । बिगाहौँ क्षेत्रफलमा लगाएका बन्दागोबीले बजार नपाएपछि गाईवस्तुलाई चारोको रुपमा खुवाउन बाध्य छन् ।
तुलसीपुर उपमहानगरपालिका ११ मोतीपुर निवासी राजेश डाँगीले १० कठ्ठा जग्गामा डेढ लाख लगानीमा बन्दागोबी खेती गरेका छन् । उनले लगाएको बन्दागोबी ५ रुपैँया प्रतिकेजी विक्रि गर्न खोज्दा पनि विक्रि नभएको बताए ।
परिवारका सदस्यहरुको मेहनत र आफ्नो लगानी उठाउन नसक्दा आफूले गरेको परिश्रम प्रति नै वितृष्णा पैदा हुन थालेको बताए । स्थानीय सरकारले तरकारीको पकेट क्षेत्र घोषणा गरे पनि हामी जस्ता किसानहरुले उत्पादन गरेको तरकारीका लागि बजार व्यवस्थापन भने गर्न नसकेकोमा दुखेसो पोखे ।
राजेशले लगाएको १० कठ्ठाको बन्दागोबी प्रतिकेजी ५ रुपैँयाका दरले मात्रै विक्री भएमा पनि करिब २ लाख बराबरको कारोबार हुने उनी बताउछन् । तर उनले गरेको बन्दागोबीको खेती दुई वर्षदेखि यसैगरी बारीमै कुहिएर जाने गरेको उनी बताउछन् ।
त्यस्तै सोही ठाउँ निवासी यज्ञबहादुर खत्रीले पनि १५ कठ्ठा जग्गामा बन्दागोबी खेती गरेका छन् । उनको पनि राजेशको जस्तै पिडा छ । खत्रीले उत्पादित बन्दागोबी बिक्री नभएपछि गाईबस्तु चराउन बाध्य भएको बताए । बन्दागोबी खेती गर्दा लागेको लगानी समेत उठ्न नसकेपछि अबका दिनमा खेती गर्न छोड्ने संकल्प गरेको बताए ।
‘विदेश जान मनले मान्दैन् । घर परिवार छोराछोरीलाई छोडेर जान सकिदैन् । यही केही गरौं भनेर गर्दा उत्पादन गरेको तरकारी बारीको बारीमै कुहिने अवस्था छ’- उनले भने । करिब एक लाख रुपैँयाको लागतमा १५ कठ्ठा क्षेत्रफलमा बेमौसमी तरकारी (बन्दागोबी) खेती गरेको उनको भनाइ छ । उनले बजार क्षेत्रसम्म लैजादा ढुवानी खर्च नै नउठ्ने अवस्था आएपछि गाईबस्तु चराउन थालिएको पनि बताए ।
राजेश र यज्ञबहादुर त एक उदाहरणका पात्र मात्रै हुन् । उनीहरु जस्तै उक्त गाउँमा बेमौसमी तरकारी खेती गर्ने किसानहरु धेरै छन् । उनीहरुको जस्तै त्यहाँका स्थानीयले बिघौं क्षेत्रफलमा तरकारी खेती गरेका छन् तर तरकारीले बजार नपाउँदा कुहिएर जाने तथा गाईवस्तुलाई खुवाउन विवश छन् ।
भारत, पोखरा, रोल्पा, सल्यान लगायतका स्थानबाट तरकारी आयात भएपछि स्थानीय स्तरमा उत्पादन भएका तरकारीले मूल्य र बजार पाउन नसकेको किसानहरुको गुनासो छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले किसानहरुले उत्पादन गरेको बस्तु बजारीकरणमा समस्या सिर्जना भएको भन्दै पालिकाको तर्फबाट बजारीकरणका लागि विकल्प खोजी रहेको बताएका छन् । स्थानीय बजारमा बिक्री नहुने अवस्था सिर्जना भएकोले बाहिरी बजारमा बजारीकरण गर्नुपर्ने अवस्था छ तर त्यसका लागि हालसम्म कोही पनि सम्र्पकमा आइनसकेको उनको भनाइ छ ।
त्यस्तै आर्थिक वर्षको अन्तिम तिर भएकोले अहिले पालिकाले किसानहरुलाई क्षतिपूर्ति दिन सक्ने अवस्थामा पनि नरहेको बताए । त्यस्तै उनले तुलसीपुर १२ मा हाटबजार स्थापना गर्ने भनेर कार्यपालिकाबाट निर्णय समेत गरिएको भएपनि हाटबजार भने लगाउन नसकिएको स्वीकार गरेका छन् । साथै उनले किसानहरुलाई पकेट क्षेत्र निर्धारण बेमौसमी तरकारी खेती उत्पादनका लागि प्रोत्साहन गरिने बताए ।
त्यस्तै उनले किसानहरुले उत्पादन गरेका बेमौसमी तरकारी बिक्री वितरण र मूल्यमा समस्या नभएपनि मौसमी तरकारी खेतीमा भने विगतदेखि नै मूल्य र बजारीकरणको समस्या रहेको बताए ।