जयन्ती चौधरी, तुलसीपुर
२५-जेठ/ दाङमा आज (बिहीबार)देखि दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भएको छ । ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउन थालिएको हो ।

जिल्लामा करिब दुई लाख बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुंवरले जानकारी दिए । जिल्लाको घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका र गढवा गाउँपालिकामा आज(बिहीबार)देखि र तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकामा यही जेठ ३१ गतेदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाइने प्रमुख कुंवरले बताए ।

प्रमुख कुवरका अनुसार जिल्लाका १० वटै पालिकाको १२७ खोप केन्द्रबाट सम्पूर्ण वडामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइने छ । यसअघि दादुरा रुवेलाविरुद्धको नियमित खोप लगाएका तथा खोप लगाउन बाँकीले यो खोप लगाउन सकिने छन् ।

 

 

‘यसअघि दादुरा रुवेलाविरुद्धको नियमित खोप दिदै आएका थियौं । तर कतिपय बालबालिकाले नियमित खोप लगाएको तर दादुरा रुवेलाविरुद्धको खोप नलगाएको तथ्यांक भेटियो । पछिल्लो समय हाम्रो दाङमा पनि दादुराको प्रकोप देखियो । जिल्लामा दादुराको खोप लगाएकामा पनि प्रकोप देखियो । दादुराको प्रकोप ९ महिनादेखि मुनिका र उमेर छिपिएका उमेर समूहमा पनि देखा पर्‍यो । त्यसकारणले दाङमा पनि दादुरा रुवेलाविरुद्धको खोप अभियान संचालन गरेका हौं’-प्रमुख कुंवरले भने ।

त्यस्तै प्रमुख कुवरले जिल्लाका १२७ खोप केन्द्र प्रायजसो विद्यालय भएको पनि बताए । खोप लगाउने लक्षित उमेर समूहका ७५ प्रतिशत बालबालिका विद्यालय उमेर समूहका भएकोले विद्यालयलाई खोप केन्द्र बनाइएको बताए ।

त्यस्तै प्रमुख कंवरले दादुरा रुवेलाविरुद्धको नियमित खोप लगाएका र लगाउन बाँकी रहेका ६ महिना मुनिदेखि १५ वर्ष पुग्न एकदिन बाँकी रहेका बालबालिकाले यो खोप लगाउन सक्ने जानकारी दिए । जिल्लामा यसअघि तुलसीपुर र घोराही उपमहानगरपालिकामा २९ जनामा दादुराको सङ्क्रमण देखिएको थियो ।

नेपाल सरकारले दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरा, सुनसरी, मोरङ, महोत्तरीमा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइन थालेको छ । देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो । यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो ।

दादुरा रुवेलारोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्छ । यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ । अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन अनुरोध गरिएको छ ।

प्रतिकृया

प्रतिकृया