दाङ
९-साउन/ दाङ जिल्लाको देउखुरी क्षेत्रमा बर्षातका कारण दर्जन बढी घर डुवानमा परेका छन् । सोमबारदेखि लगातार परेको अविरल बर्षातका कारण देउखुरी क्षेत्रको विभिन्न स्थानका घर डुवानमा परेका छन्, भने केही घर भत्किएका छन् ।
दाङ राजपुर गाउँपालिका ५ स्थित भुर्किहवाका १०र१२ वटा घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । राप्ती नदीको वहाब बढेपछि नदी आसपासका घरहरु डुवानमा परेको डिएसपी गौतमले बताए ।
त्यस्तै लमही नगरपालिका–१ सुनडबरी निवासी ७० बर्षीय निमबहादुर सार्कीको फुसले छाएको घरमा पानी पसेको र घर भित्र रहेका दुई जनालाई उद्दार गरिएको छ । त्यस्तै लमही ३ कान्तिपुरका रामबहादुर कुमालको १ तले घरमा पानी पसेको र डुवान पछि छतमा रहेकाहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँका शुसिल कुमालको २ तले र दयाराम चौधरी घर पनि डुवानमा परेको छ। कुमाल र चौधरीको घरबाट डुवान अघि नै मानिस विस्थापित भएका थिए । यी क्षेत्रका घरहरु मंगलबार बिहान ८ र ११ बजेतिर डुबानमा परेको प्रहरीको भनाइ छ ।
त्यस्तै अविरल बर्षातका कारण एउटा घर पनि भत्किएको छ । मंगलबार विहान १० बजेतिर राजपुर गाउँपालिका २ निवासी ३० बर्षीया पुष्पा नेपालीको एक तले खरले छाएको कच्ची घरको एकतर्फको भित्ता भत्किएको उनले बताए । उनलाई नजिककै ग्वाते कुमालको घरमा सारिएको छ ।