दशरथ घिमिरे,देउखुरी
२१-भदौ /वडा प्रहरी कार्यालय लमहीको हिरासत भित्र मृत्यू भएको घटनालाई प्रहरीले गुपचुपमा राखेको भन्दै समाचार सार्वजनिक भएपछी घटनाको छानविन गर्न संघिय ईकाइ प्रहरी कार्यालय तुलसीपुरले एसएसपी दिलीप कुमार चौधरीलाई जिम्मा दिएको छ ।

पाँच नम्वर प्रदेशका प्रहरी प्रमुख एआईजी मिङमार लामाले घटनाको सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न एसएसपी चौधरीलाई जिम्मा दिएको जानकारी दिनुभयो ।‘सत्य तथ्य पत्ता लगाई प्रतिवेदन वुझाउन एसएसपीलाई जिम्मेवारी दिएको छु, उहाँले घटनाको अनुसन्धानगरी पाँच दिन भित्र प्रतिवेदन वुझाउनुहुनेछ’उहाँले भन्नुभयो–‘जिल्लाका एसपी र प्रहरी प्रमुखलाई राखेर एक चरण छलफल गरीसकेको छु ।’ यस्तै गंगटे भनिने व्यक्तिको मृत्यु प्रकरणमा प्रहरीले गलत सूचना सार्वजनिक गरेको पुष्टि भएको छ ।

भदौ १३ गते प्रहरीको नियन्त्रणमै मृत्युभएका गंगटेकोलाई प्रहरीले घोराही–३ चौपट्टामा बेवारीसे अबस्थामा शब फेला परेको भनि सूचना सार्वजनिक गरेको थियो ।तर गंगटेको शब बेवारीसे अबस्थामा नभई उपचारका क्रममा अस्पतालमा मृत्युभएको भनि प्रहरीले आफैले सार्वजनिक गरेको सूचनालाई गलत भएको पुष्टि गरेको छ । दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले गंगटेको मृत्यु अस्पतालमै भएको दावी गर्नु भएको छ ।

यस अघि प्रहरीले फेसवुकमा सार्वजनिक गरेको विज्ञप्तीमा वेवारीसे अवस्थामा शव फेला परेको उल्लेख गरेको थियो । अहीले प्रहरीले फेसवुकमा राखेको विज्ञप्ती समेत हटाईसकेको छ । १४ गते जिल्ला प्रहरी कार्यालयले आफ्नो आधिकारीक फेसबुक पेजमा गंगटे भनिने व्यक्तिको शब बेवारीसे अबस्थामा घोराही लमही सडक खण्डको चौपट्टामा भेटिएको र चिन्नुहुनेले प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला भनेर सूचना सार्वजनिक गरेको थियो ।

गंगटेलाई कुन अभियोगमा प्रहरीले पक्राउ गरेको थियो भन्ने वारेमा केही नखुलेपनि चोरीको घटनाको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हुन सक्ने वताईएको छ । पक्राउ पछि उनलाई लमही अस्पतालमा स्वास्थ्य जाँचका लागि प्रहरीले लगेको थियो । अस्पतालका डा. ईश्वरी खनालका अनुसार उनी मानसिक समस्यामा रहेको र मनोविमर्श गर्नुपर्ने गरि पठाईएको थियो ।

अर्को दिन गंगटेलाई प्रहरीले फेरी अस्पताल लगेको थियो । ईसिजी गर्दा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । त्यसपछि प्रहरीले बेवारीसे शब फेला भनेर सूचना सार्वजनिक गरेको थियो । प्रहरीले उनलाई उपचारका लागि लगिएको अस्पतालले पुष्टि गरेको छ भने उनलाई प्रहरीले उपचारका लागि लगेको फोटो समेत सार्वजनिक भएपछि प्रहरीले गलत सूचना सार्वजनिक गरेको पुष्टि भएको हो । घटनाका बारेमा प्रहरीले अस्पतालमा मृत्यु भएको भने पनि अरु कुनै पनि कुरा भन्न चाहेको छैन् ।

प्रतिकृया

प्रतिकृया