कम्युनिष्ट आन्दोलनका पुराना नेता तथा माओवादी केन्द्रका सदस्य कुबेर वली । उनको जन्म २००७ साल चैत ३० गते रुकुम जिल्लाको तत्कालीन छिवाङ गाविस वडा नं. २ मा बुवा डिल्ली बहादुर वली र आमा हुमादेवी वलीको कोखबाट भएको थियो ।

उनको वाल्यकाल रुकुममै बितेको थियो । आफ्नो वाल्यकाल एकदमै कष्टपूर्ण तरिकाले बितेको उनी बताउँछन् । वाल्यकालमा घाँस दाउरा जाने गाई ग्वाला जाँदै पढ्दै गरेर आफ्नो वाल्यकाल बितेको उनी बताउँछन् । २०२३ सालमा उनको परिवार दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ बिष्णुपुरमा बसाई सरेर आयो र उनी पनी परिवारसहित दाङ आए । अहिले उनको परिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा बस्दै आएको छ ।

कुबेरले ७÷८ वर्षको उमेरमा घरमै कखरा सिकेका थिए । त्यसपछि १० वर्षको उमेरमा उनी राष्ट्रिय प्राथमिक विद्यालय जमारुमा भर्ना भए । उनले त्यहाँ कक्षा पाँचसम्म पढेका थिए । त्यसपछि कक्षा ६ बाट त्रिभुवन जनता माध्यमिक विद्यालय खलङ्गा रुकुममा भर्ना भए । उनले त्यहाँ कक्षा नौसम्म पढे । त्यसपछि उनी कक्षा १० दाङको घोराहीमा रहेको पपहाई स्कुलमा पढे र त्यहीबाट २०२७ सालमा एसएलसी पास गरे ।

एसएलसीपछि उनी इन्डियाको बनारसमा गएर पढे । उनले बनारसबाट आईए पास गरे । त्यसपछि उनले बाँकी पढाई रोकेर घरमै विभिन्न पुस्तकहरु अध्ययन गर्दै आफ्नो बुवा र दाईसँग रुकुममै बसेर व्यापार सुरु गरे । उनले रुकुममा करिव १२ वर्षसम्म व्यापार गरेका थिए । पहाडको ठाउँमा व्यापार गर्ने भएकाले आफुले नुनदेखि सुनसम्मको व्यापार गरेको उनी बताउँछन् ।

कुबेर विद्यार्थीकाल मै राजनीति गर्न रुचाउँथे । आफु क्याम्पस पढ्ने बेलामा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध भएर काम गरेका थिए । त्यही क्रममा आफुले माक्सवाद सम्बन्धी अध्ययनहरु धेरै गरेको उनी बताउँछन् । बनासरमा बस्ने बेला कांग्रेस, कम्युनिष्ट, राजावादी सबैको बारेमा बुझ्ने र अध्ययन गर्ने काम गरेको उनी बताउँछन् । त्यो समयमा पार्टीहरु प्रतिबन्धित थिए त्यसकारण पनि राजनीतिको थलो बनारस हुने गथ्र्यो त्यो बेलामा । विश्वेश्वर प्रसाद कोइराला, पुष्पलाल, मोहन विक्रम सिंहलगायतका नेताहरु नेपालमा भूमिगत ढंगबाट राजसत्तालाई उल्टाएर नेपालमा गणतन्त्र ल्याउनु पर्छ भन्ने खालको आन्दोलन बनारसबाट गरिरहेका थिए ।

त्यसमा सबै भन्दा धेरै विद्यार्थीहरु प्रचार प्रसार पम्प्लेटहरु वितरण गर्ने काम गर्ने भएकाले आफु पनि त्यहीँबाट प्रभावित भएको उनी बताउँछन् । सबै कुरा बुझ्दा माक्र्सवादी राजनीति राम्रो लागेर आफु त्यसमै आवद्ध भएको उनको भनाई छ । त्यसपछि १० वर्षसम्म कम्युनिष्ट आन्दोलनमा होमिए । १० वर्षपछि भने आफु व्यापारमा लागे तर कम्युनिष्ट पार्टीमै आवद्ध रहेको उनी सुनाउँछन् ।

१० वर्षपछि फेरी राजनीति मै फर्किए
कुबेर वली १० वर्षसम्म व्यापार गरेर पछि फेरी राजनीतिमा नै फर्किए । २०४६ सालमा देशमा प्रजातन्त्रको लागि जनआन्दोलन भयो । त्यो आन्दोलमा कुबेर पनि सहभागी भए । त्यसपछि उनी बामपन्थी आन्दोलनमा निरन्तर सक्रिय रुपमा लागे र अहिले पनि उनी राजनीतिमा नै छन् । व्यापार र राजनीति फरक पाटो रहेको उनी बताउँछन् । व्यापारसँगै राजनीति गर्न नसकिने र आफ्नो पहिलेदेखि नै निःस्वार्थ रुपमा राजनीति गर्नु पर्छ भन्ने मान्यतासहित अगाडी बढेकाले आन्दोलनले जुन खालको देशमा परिवर्तन आयो त्यसले अझै बढी राजनीतिमा अगाडी बढ्ने शाहस बढाएको उनी बताउँछन् ।

कम्युनिष्ट आन्दोलनदेखि शसस्त्र जनयुद्धसम्मको यात्रा
नेपाल कम्युष्टि पार्टी २००६ सालमा कोलकोत्तामा स्थापना भएको थियो । विभिन्न आरोह अवरोहबाट कम्युनिष्ट पार्टी अगाडी बढेको थियो । त्यसपछि २०१७ सालमा कु भईसके पछि नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्धित भयो । पुष्पालाल, तुलसीलाल, मोहन विक्रम शम्भुरामलगायतका थुप्रै नेताहरुको पहलमा २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन भयो । तर विभिन्न कारणले कम्युनिष्ट पार्टी छिन्नभिन्न भयो । त्यसपछि २०२५ सालमा राष्ट्रिय सम्मेलन गरेर नेपालमा फेरी नेपाल कम्युनिष्ट पार्टी गठन भयो । तर त्यो पनि सक्रियरुपमा अगाडी बढ्न सकेको थिएन । त्यसपछि २०२८ सालमा मोहन विक्रम जेलबाट छुटेर न्युक्लश पार्टी खोले । न्युकलशले ३१ सालमा १४ औं अधिवेशन गर्यो । यसरी अगाडी बढेको बेला झापा आन्दोलन भयो ।

त्यसमा धेरै नोक्सान भयो कसैले त्यो आन्दोलनलाई उग्र भने त कसैले यस्ता आन्दोलन गर्नु पर्छ भने । झापा आन्दोलनबाट छिन्नभिन्न भएका कम्युनिष्टहरु फेरी अर्को पार्टी बनाए । जनवादी पार्टी २०३५ सालमा गएर फेरी माले भयो । यता दाङमा भने नेत्रलाल अभागीको नेतृत्वमा रहेको सन्देश परिवार सबै मालेमा आवद्ध भए । यो समयमा विभिन्न कम्युनिष्ट पार्टीहरु फुट्ने क्रममा चलिरहेको थियो । कम्युनिष्ट पार्टीको १४ औं महाधिवेशनसम्म आइपुग्दा कम्युनिष्ट फुटेर तीनवटा पार्टी भइसकेको थियो । २०४६ सालपछि सबै क्रान्तिकारी पार्टीहरु एकजुट हुनु पर्छ भनेर अहिलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) महासचिव भएको समयमा सबै कम्युनिष्ट पार्टी जोडिएर नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र बन्यो । त्यसपछि २०५२ सालमा जनयुद्धमा जाने या नजाने भन्ने विषयमा एकता पार्टीमा वहस भयो ।

त्यो वहसबाट एक समूहले जनयुद्धमा जाने भन्यो तर अर्को समुहले नजाले भन्यो । जनयुद्धमा नजाने समूह अलग भयो । जनयुद्ध लड्ने पार्टीले चीनको जनवादी क्रान्तिको सार्वभौम कुरालाई अंगालेर क्रान्ति गर्ने निर्णय भयो र माओवाद भएर जनयुद्धमा गयो । त्यसपछि कुबेर पनि माओवाद भएर क्रान्तिकारीमा होमिए । निरन्तर १० वर्षसम्म देशमा जनयुद्ध भयो त्यो जनयुद्धमा आफु पनि निरन्तररुपमा लागेको उनी बताउँछन् ।

पटक-पटक सेनाको घेराउमा परियो
कुबेर वलीसँग माओवादी जनयुद्धमा १० वर्षसम्म भूमिगत भएर हिड्ने क्रममा धेरै पटक प्रहरी सेनाको घेराउमा परेको थुप्रै घटनाहरु छन् । कति पटक त प्रहरी सेनाले चारैतिरबाट घेराउ हाल्दा समेत आफु त्यो जंगुलबाट उम्कन सफल भएको उनी बताउँछन् । बिजौरीमा पनि तीनवटा टोलीले घेराउ हालेको समयमा पनि दुईवटा बाटोको बीचमा पर्ने जंगलमा लुकेर आफुहरु बाँच्न सफल भएको उनी बताउँछन् । यसरी मृत्युको मुखमै पुगेको समयमा पनि आफुलाई कुनै डर नलागेको उनी बताउँछन् । ‘हामीहरु देश र जनताको लागि आफ्नो जीवनको आहुती दिँदा कुनै फरक हुँदैन भन्ने मान्यताले अगाडी बढेको भएर होला मर्नको लागि कुनै डर लाग्थेन’ उनी भन्छन् । उनी नेकपा माओवादीमा आवद्ध भएसंगै दाङ जिल्लाको सेक्रेटरी, अध्यक्ष, ईन्चार्ज, पार्टीको केन्द्रीय सदस्य हुँदै माओवादी पार्टीबाट संविधान सभा सदस्य भएर काम गरिसकेका छन् ।

पार्टीले अवसर दिन कन्ज्युस्याई गर्यो
आफुले पार्टीको लागि धेरै त्याग, तपस्या, बलिदान दिए पनि पार्टीले आफुलाई नसम्झिएको उनी गुनासो गर्छन् । पार्टीमा लागेर काम गरिसकेपछि यो भन्दा अझ ठुलो महत्वपूर्ण स्थानमा गएर काम र सेवा गरु भन्ने जसलाई पनि लाग्छ तर त्यो अवसर पार्टीले दिनु पर्नेमा आफुलाई भने पार्टीले अवसर दिन कन्ज्युस्याइ गरेको महसुस हुने गरेको उनी बताउँछन् । घर परिवारहरुले राजनीतिमा लाग्नु हुँदैन कहिले नभने पनि पार्टीले आफुलाई अवसर नदिंदा, उपयुक्त समयमा नसम्झिँदा तपाईलाई पार्टीले के दियो ? पार्टीले तपाईलाई अन्याय गरे पनि सहनु पर्छ र ? भन्ने खालका कुराहरु उठाउँने गरेको उनी बताउँछन् ।

राजनीतिले आफुलाई त्याग, तपस्या, बलिदान, ईमान्दारी पुर्वक जनताहरुको सेवा गर्नु पर्छ भन्ने पाठ सिकाएकाले त्यही प्रेरणाले आफु निरन्तर पार्टीमै रहेको उनी बताउँछन् । राजनीतिसँगै सिमसुन्दरपुरमा आफुले स्कुल स्थापना समेत गरेको उनी बताउँछन् । आफुलाई सामाजिक काम गर्न असाध्यै मन लाग्ने गरेको उनको भनाई छ ।

वैवाहिक जीवन
कुबेर वलीले २०२९ सालमा दाङको जुम्लेकुलाबाट मागी बिहे गरेका थिए । आफुले बिहे पहिले एक दुई पटक जीवन साथीलाई देखेको उनी बताउँछन् । तर परिवारबाट बिहे गर्नु पर्छ भन्ने खालको कुरा आएपछि आफुले बिहे गरेको उनी बताउँछन् । मागी बिहे गरेपनि आफु र आफ्नो भावनालाई बुझ्ने खालको जीवन साथी पाएको उनी बताउँछन् । जीवन साथीको सहयोगबाट नै आफु लामो समयसम्म राजनीतिमा टिक्न सकेको उनी बताउँछन् । जनयुद्धको समयमा महिनौ दिनसम्म पनि आफु घरमा नगएको समयमा पनि जीवन साथीले साथ दिएको उनी बताउँछन् । आफु जनयुद्धमा होमिएपछि सबैभन्दा धेरै पुलिस प्रशासनबाट आफ्नो परिवारले दुःख पाएको उनी बताउँछन् । उनको दुई छोरी एक छोरा छन् । अबको जीवन राजनीतिबाट जनताहरुको सेवासँगै समाजसेवा गरेर बिताउने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया